News Portal

बन्द प्रभाव : काठमाडौँमा सवारी सामान्य, अन्य जिल्लामा आंशिक, ठाउँ-ठाउँमा शंकास्पद् वस्तु फेला

काठमाडौँ । आज बिहीबार काठमाडौँ उपत्यकामा सवारी साधनको ओहोरदोहोर घटेको छ। नेत्र विक्रम चन्द विप्लवको बन्दका कारण आज सवारी आवागमनमा कमी आए पनि कुनै ठाउँमा सवारी अवरोधन नरहेको प्रहरीले जनाएको छ।

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले बन्द आह्वान गरेसँगै धेरैजसो निजी विद्यालयहरुले आज बिदाको निर्णय नै गरेका छन्। निजी विद्यालय सञ्चालन नभएकाले पनि गाडीको ओहोरदोहोर कम देखिएको प्रहरीले जनाएको छ।

पोखरामा शंकास्पद वस्तु

पोखरामा बन्दको प्रभाव मध्यम छ। बुधबारको तुलनामा आधाजसो सवारी चलेको हाम्रा संवाददाता विजय नेपालले बताएका छन्। पोखराको सभागृह चोकमा शंकास्पद वस्तु फेला परेको छ। उक्त वस्तु बम भएको अनुमान गर्दै नेपाली सेनाको डिस्पोजल टोली त्यसतर्फ गएको छ।

बुटवलमा पनि संकास्पद वस्तु

बुटवलमा पनि बन्दको प्रभाव आंशिक छ । बजार क्षेत्रमा सवारी चलेपनि अन्य ठाउँमा कमै मात्रामा सवारी चलेका छन्। बुटवलको कालिकास्थानमा शंकास्पद वस्तु फेला परेको छ।

मकवानपुरमा पनि शंकास्पद वस्तु फेला

विप्लव नेतृत्वको बन्दका कारण प्रदेश नम्बर ३ को राजधानी हेटौँडामा पनि शंकास्पद वस्तु फेला परेका छन्। हेटौँडा औद्योगिक क्षेत्रको मुल गेटमा बम जस्तो वस्तु भेट्टिएको प्रहरीले जनाएको छ।

पूवी नेपालमा बन्दको प्रभाव 

प्रदेश नम्बर १ मा विप्लव नेतृत्वको नेकपाले गरेको बन्दको प्रभाव आशिंक देखिएको छ। पहाडी जिल्लामा बन्दको असर देखिएपनि शहरी क्षेत्रमा भने सवारी साधन चलिरहेको प्रहरीले जनाएको छ।

Leave A Reply

Your email address will not be published.