News Portal

निर्मला हत्या प्रकरणमा नयाँ मोड, शंकाको सुईं फेरि दिलिपसिंह विष्टमाथि नै

काठमाडौं । निर्मला पन्तको बलात्कार तथा हत्याको अनुसन्धानलाई प्रहरीले एकपछि अर्को गर्दै फरक–फरक पाटोबाट अगाडि बढाइरहेका बेला हत्या प्रकरणले फेरि नयाँ मोड लिएको छ । प्रहरीले हत्यामा संलग्न मुख्य अभियुक्त पक्राउ गर्न अनुसन्धानको पाटोलाई फेर्दै अघि बढाइरहेको बताइरहँदा स्वयं निर्मलाकी आमा दुर्गादेवी पन्तको अदालती बयान फेरिएपछि अनुसन्धानरत प्रहरी नै अलमलमा परेको छ ।

गत १० साउनमा साथीको घर जान भनी घरबाट निस्केकी निर्मलाको ११ साउनमा घर नजिकैको उखुबारीमा शव फेला परेको थियो । त्यसयता निर्मलाको बलात्कार तथा हत्या अनुसन्धानमा प्रहरीसमेत एकपछि अर्को गर्दै फस्दै आएको छ ।प्रहरीले हत्याको अनुसन्धानमा दोषी भन्दै नियन्त्रणमा लिइएका कसैको पनि डीएनए मेल नखाएपछि अनुसन्धानमा प्रहरीले हैरानी खेप्दै आएको थियो भने प्रहरीमाथि नै निर्दोषलाई दोषी देखाउन सक्रिय भएको आरोप लाग्दै आएको थियो । प्रमाण अभावमा प्रहरीले हालसम्म कसैलाई पनि पक्राउ गर्न सकेको छैन ।

तर, अहिले एकाएक निर्मलाकी आमा दुर्गादेवीले प्रहरीले सुरुमै हत्यामा संलग्न भएको आशंकामा पक्राउ गरेका दिलिपसिंह विष्टमाथि नै शंका गरेपछि प्रहरी भने फेरि अलमलमा परेको छ ।निर्मलाकी आमाले केही दिनअघिको बयानमा दिलिपसिंह विष्ट नै निर्मलाको हत्यामा संलग्न रहेको हुन सक्ने भन्दै पहिलेको बयानलाई फेरेकी थिइन् । उनले दिलिपसिंहले प्रहरीलाई दिएको बयानको भिडियो आफूले हेरेपछि आफ्नो घरका सबै कुरा उसलाई थाहा भएको, छोरीको साइकलबारे समेत उसलाई थाहा भएकाले र उसको अवस्थाका कारण पनि ऊ निर्दोष हो भन्न नसकिने अवस्था रहेकाले उनीमाथि नै अनुसन्धान गरिनुपर्ने बयान दिएकी छन् ।

दुर्गादेवीले आफ्नो पछिल्लो बयानबारे राजधानीसँग भनिन्, ‘म कानुन जान्दिनँ, मानव अधिकारकर्मीहरूले पहिले मेरो सही गरेर के के लेखेर उजुरी दिए, मलाई थाहा भएन । तर, मैले अहिले दिलिपसिंहले प्रहरीमा दिएको बयानको भिडियो हेरें । उसलाई मेरो घर र छोरीको साइकलको सबै अवस्था कसरी थाहा भयो त ? ऊ निर्दोष हो भनेर कसरी भन्ने ? डीएनए नमिल्दैमा निर्दोष हुन्छ ? ऊमाथि फेरि अनुसन्धान गर्नुपर्छ । मैले अदालतमा त्यही भनेकी छु ।’

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता उत्तमराज सुवेदीले अनुसन्धानको दायरामा आएर तारेखमा छुटेकाहरू कोही पनि अनुसन्धानको दायराबाट बाहिर नरहने जनाए ।‘निर्मला हत्याका विषयमा तारेखमा छुटेकाहरू अहिले पनि अनुसन्धानकै दायरामा छन्, तारेखमा छुट्दैमा कोही पनि अनुसन्धानबाट बाहिर पुगेका हुँदैनन् । फेरि पनि उनीहरूमाथि प्रहरीले आवश्यक सोधपुछ गर्न सक्छ,’ प्रहरी प्रवक्ता सुवेदीले राजधानीसँग भने ।उनले निर्मलाको आमाको भनाइलाई लिएर प्रहरीले गहन रूपमा अनुसन्धानअघि बढाउनेसमेत बताए ।

प्रहरीले दिलिपसिंहलाई घटनाको सुरुवाती अवस्थामा नै नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको थियो भने निजको डीएनए निर्मलाको योनीबाट निकालिएको भेजिनल स्वाबसँग मेल नखाएपछि उनी प्रहरी हिरासतबाट निर्दोष साबित हुँदै छुटेका थिए । यस्तै, उनी निर्दोष रहेको र वास्तविक दोषी लुकाउन दिलिपसिंहलाई नियन्त्रणमा लिइएको भन्दै कञ्चनपुरमा व्यापक विरोध प्रदर्शनसमेत भएको थियो ।

तर, अहिले आएर छोरीको हत्यामा दिलिपसिंहको नै संलग्नता रहेको भन्दै निर्मलाकी आमाले बयान दिएकी छन् । सुरुमा उनले नै दिलिपसिंह निर्दोष रहेको बताउँदै आएकी थिइन् । यस्तै, उनले आफ्नै पक्षमा साथ दिँदै आएका स्थानीय मानवअधिकारकर्मीहरूको समेत आलोचना गर्न थालेकी छन् ।निर्मलाकी आमा दुर्गादेवीले आफूले प्रमाण नष्ट गर्ने र घटनाको अनुसन्धानमा लापरबाही गर्ने प्रहरीका नाममा उजुरी दिएको तर उनीहरूले पाउने सजाय पाइसकेकाले अब उनीहरूमाथि अरू दुःख दिने मनसायसमेत नरहेको बताएकी छन् ।

हाल निर्मलाको बलात्कार तथा हत्यापछिको अनुसन्धानमा प्रमाण नष्ट गरेको आरोपमा आठ पूर्वप्रहरी कर्मचारीहरू अदालती बयानको प्रक्रियामा छन् । दुर्गादेवीले आठ प्रहरीमाथि जिल्ला अदालतमा दायर भएको मुद्दा सच्याउन आफूले निवेदन दिएकोसमेत बताएकी छन् । ‘मैले राम्ररी कुरा नबुझी जाहेरी दिएकी थिएँ तर अहिले सबै कुरा बुझें र सच्याउन भनेकी हुँ,’ उनले भनिन् ।यसअघि दुर्गादेवी र दिलिपसिंह विष्टका दाजुको जाहेरीका आधारमा प्रहरीविरुद्ध मुद्दा दायर गरिएको थियो । राजधानी दैनिक

Leave A Reply

Your email address will not be published.