News Portal

विप्लव समूहका तेस्रो वरियताका नेता ओली पक्राउ, प्रहरीलाई सफलता,विप्लवलाई धक्का

चैत ०९  काठमाडौं । प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टी विप्लव समूहका प्रभावशाली नेता हेमन्तप्रकाश ओली ‘सुदर्शन’ पक्राउ परेका छन् ।

मध्य केन्द्रीय कमाण्ड इन्चार्ज समेत रहेका ओलीलाई शुक्रबार राति काभ्रेबाट पक्राउ गरिएको स्रोतले दावी गरेको छ । तर, प्रहरीले यसलाई औपचारिक रुपमा सार्वजनिक गरेको छैन । उनलाई प्रहरीको विशेष ब्युरो, महाशाखाको टोली र काभ्रे प्रहरीले पक्राउ बताइएको छ ।

विप्लवले पार्टीभित्र धेरै विश्वास गर्ने नेतामा ओली पर्छन् । उनकै योजनामा फागुन १० गते ललितपुरको नख्खुमा रहेको एनसेल टावर अगाडि बम विष्फोट भएको प्रहरीको निष्कर्ष छ । विष्फोटमा एक जनाको मृत्यु भएको थियो । अन्य दुई जना घाइते भएका थिए ।

ओली विप्लवको पार्टीका तेस्रो नम्बरका नेता हुन् । दोस्रो नम्बरका मानिएका प्रकाण्डलाई भन्दा विप्लवले स्थायी समिति सदस्य ओलीलाई विश्वास गर्छन् । ओलीले नख्खु बम विष्फोटको जिम्मेवारी लिएका थिए । सरकारले विप्लव समूहमाथि प्रतिबन्ध लगाएसँगै प्रहरीले उनका नेतालाई गाउँगाउँ पुगेर प्रकाउ गरिरहेको छ । केहीदिन अघि काभ्रे पुगेको प्रहरीले टोलीले उनलाई पक्राउ गर्न खोज्दा दोहोरो झडप भएको थियो ।

त्यसक्रममा विप्लव समूमह ४ नेता पक्राउ परेका थिए भने ओली भाग्न सफल भएका थिए । उनी बसेको घरबाट उनको चस्मा र औषधि बरामद गरिएको थियो । त्यसयता काभ्रेमै बसेर प्रहरीले ओलीको खोजी तीब्र पारेको थियो ।

हिंसात्मक गतिविधि गरिरहेको भन्दै सरकारले हालै विप्लव समूहमाथि प्रतिबन्ध गरेको छ । प्रहरीले अहिलेसम्म पक्राउ गरेको विप्लवका नेता, कार्यकर्तामध्ये ओली हाइप्रोफाइल नेता हुन् ।

Leave A Reply

Your email address will not be published.