News Portal

विप्लवका कार्यकर्ता र प्रहरीबीच दोहोरो गाेली हानाहान

चैत १३ अछाम । अछाममा प्रहरी र विप्लव समूहका कार्यकर्ताबीच दोहोरो फाइरिङ भएको छ । जिल्लाको रामारोशन गाउँपालिका, ४ बाटुलासैनको झाँतामा मंगलबार फाइरिङ भएको हो ।विप्लव समूहलाई खोज्दै गाउँ पसेको प्रहरी टोलीमाथि गोली चलाएपछि प्रहरीले जवाफी फाइरिङ गरेको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख डीएसपी जनकबहादुर शाहीले बताए ।

उनका अनुसार प्रतिकार गर्ने क्रममा प्रहरीले ६ राउन्ड गोली चलाएको थियो ।बाटुलासैनका स्थानीय पुष्प विष्टका अनुसार २०/२५ जनाको संख्यामा आएका विप्लवका कार्यकर्ताहरु दोहोरो फाइरिङपछि भाग्न सफल भएका छन् । झाँता गाउँका स्थानीयका घरमा खाना खाइरहेको बेला प्रहरीको गस्ती गाउँ पुगेसँगै फाइरिङ सुरु भएको थियो ।

प्रहरीले जबाफी फाइरिङ गरेपछि नेकपा कार्यक्रता तितरबितर भएका थिए । दोहोरो फाइरिङपछि अधिकांश विप्लव कार्यक्रता भागेका छन् भने ४ जना जिल्ला कमिटी सदस्यलाई नियन्त्रणमा लिइएको डिएसपी शाहीले बताए ।

विप्लव समूहबाट पहिला गोली चलेपछि प्रहरी गोली चलाउन बाध्य भएको प्रहरीको भनाइ छ। बाटुलासैनमा विप्लव समूहका कार्यकर्ता लुकेर बसेको सूचनाको आधारमा प्रहरी त्यहाँ पुगेको थियो। प्रहरीले त्यहाँँबाट चारजना पक्राउ गरेको छ।

‘पहिला उनीहरुले गोली चलाए’, डिएसपी जनक शाहीले भने, ‘त्यसपछि जवाफी कारबाहीका लागि प्रहरी गोली चलाउन बाध्य भएको हो।’ डिएसपी शाहीले चार पक्राउ परेको पुष्टि गरे। थप विवरण भने आउन बाँकी छ।

पक्राउ पर्नेमा अखिल क्रान्तिकारीका जिल्ला कोषाध्यक्ष सुरेश रावत, युवा संगठनका जिल्ला सदस्य सुरेश साउद, अनेम संघ क्रान्तिकारीका भूमिसरा धामी, युवा संगठनका राजेन्द्र धामी रहेका छन्।

Leave A Reply

Your email address will not be published.