News Portal

छोटो प्रक्रियाबाट लोकसेवा आयोगले २० हजार कर्मचारीका लागि आवेदन खोल्ने

चैत १४ काठमाण्डौं । कर्मचारी समायोजन सकिएसँगै अब लोकसेवा आयोगले विभिन्न तहका कर्मचारीको लागि आवेदन खोल्ने भएको छ । संघीय मामिला तथा सामान्य प्रशासनले आयोजना गरेको कर्मचारी संयोजन कार्य सकिएको घोषणा कार्यक्रममा मन्त्री लालबाबु पण्डितले आगामी आर्थिक वर्षभित्र कर्मचारी नियुक्त हुने गरी छोटो प्रक्रियाबाट विभिन्न तहको २० हजार कर्मचारी लागि आवेदन खोल्न लागिएको बताएको हो ।

उनले कर्मचारी समायोजन सकिएपछि बाँकी रहेका कर्मचारी पदपूर्ति गर्न आयोगलाई निर्देशन दिइ सकिएको बताए । उनले भने, ‘अब तत्काल लोक सेवा आयोगले २० हजार विभिन्न तहका कर्मचारीका लागि आवेदन खुला गर्नेछ । आयोगको परीक्षा पास गरेकाहरुबाट आवश्यक कर्मचारीको व्यवस्था गरिने छ ।’

आवेदनबाट चालू आर्थिक वर्षभित्र आवश्यक सबै कर्मचारीहरुको व्यवस्था हुने उनले बताए ।

संविधानमा प्रदेश लोकसेवा आयोग नबनेसम्म संघीय लोकसेवाले नै कर्मचारी भर्ना गर्ने व्यवस्था भएको बताउँदै उनले भने, ‘एक महिना अगाडि नै प्रदेश र लोकसेवा आयोगलाई नपुग दरबन्दी विवरण निकाल्ने र छोटो प्रक्रियाबाट यही आर्थिक वर्ष कर्मचारी नियुक्त गर्ने र साउन १ गतेदेखि काममा खटाउने गरी तयारीमा लागिरहेका छौं ।’

पत्रकार सम्मेलनमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले आफूले मन्त्रालय सम्हालेको एक वर्ष १२ दिनमा समायोजनको काम सकेको बताए । ‘तीन तहैको संगठन संरचना तयार गरेर, कर्मचारीलाई अस्थायी रुपमा खटाएर, कामलाई सकेसम्म अवरोध हुन नदिइकन संविधानले दिइएको अधिकार अनुसार नयाँ ऐन बनाइ कर्मचारी समायोजनको काम आज सम्पन्न भएको छ,’ उनले भने ।

उनले कर्मचारीहरुको समायोजनको क्रममा आएका गुनासालाई यसै महिनाभित्र सम्बोधन गरिसक्ने पनि बताए । ‘कतिपय जायज र कतिपय इच्छा लागेका गुनासाहरु आएका छन् । आउने क्रम जारी छ । २० गतेसम्म म्याद छ । जायज गुनासाहरु सम्बोधन गर्छौं,’ मन्त्री पण्डितले भने ।

कर्मचारीको समायोजनको काम सकिएको र कर्मचारीहरुलाई पत्र दिने काम जारी रहेको उनले बताए । कर्मचारीहरुको वृत्तिविकासमा बाधा नपुग्ने गरी नयाँ कानुन बनाउने प्रतिबद्धता उनले जनाए ।

‘विकास निर्माणको कामलाई पनि डिस्टर्ब नहुने गरी लागिरहेका छौं,’ मन्त्री पण्डितले भने, ‘राष्ट्रसेवकलाई प्रोत्साहित गर्ने र उहाँहरुको वृत्ति विकासमा विकासमा बाधा नहुने गरी पठाउन लागेका छौं ।’

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले कर्मचारीको समायोजन भएको पत्र प्रक्रिया मिलाउँदै दिइने बताए । उनले भने, ‘सबै कर्मचारीको समयोजनपत्र छिट्टै दिन्छौँ, केही प्राविधिक प्रक्रिया पूरा गर्न बाँकी छ, कर्मचारीले कुनै द्विविधिमा पर्नु पर्दैन।’उनले मन्त्रालयले सरकार एक वर्ष पुगेकै समयमा समायोजन सम्पन्न गर्न चाहे पनि समायोजन हुने आंशकामा कर्मचारीले समयमै समयोजन फारम नभरिदिँदा, भरेको फारम प्रक्रिया पूरा नगर्दा समायोजनको समय लम्बिएको दावी गरे ।

संसारमा देश संघीय प्रणालीमा कार्यान्वयन हुँदै गर्दा कतिपय देशले कर्मचारी समायोजन गर्न नसकेको अवस्थाले नेपालले यो काम पूरा गरेको मन्त्री पण्डितले बताए ।

Leave A Reply

Your email address will not be published.