News Portal

भारतबाट अवैध रुपमा नेपाल भित्र्याउँदै गरेको ठूलो परिमाणको औषधिसहित ४ जना प्रहरी नियन्त्रणमा

चैत १७झापा । भारतबाट अवैध रुपमा नेपाल भित्र्याउँदै गरेको ठूलो परिमाणको औषधिसहित ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको  छ ।

जिल्लाको दक्षिणी सीमावर्ती गाउँपालिका कचनकवल–१ स्थित अस्थायी प्रहरी चौकीबाट खटिएको प्रहरी टोलीले मोटरसाइकल र मारुती भ्यानबाट २२ लाख ३० हजार मूल्य बराबरको औषधि बरामद गरेको हो ।

औषधिसहित प्रहरीले बाह्रदशी गाउँपालिका–४ का २४ वर्षीय सम्दान हुसेन, २२ वर्षीय इतियाज आलम, २८ वर्षीय ताहिर आलम र भारतको दिल्लीस्थित जंगपुरी घर भइ काठमाडौँको जोरपाटी बस्ने ३२ वर्षीय फुन्चोक लामालाई पक्राउ गरेको छ । लामा नै औषधिको मुख्य कारोबारी रहेको प्रहरीको दाबी छ ।उनीहरुले बी आर ३७ जी १४४० नम्बरको भारतीय मोटरसाइकल र नेपालकै मे १ च ४०६३ नम्बरको मारुती भ्यानमा लुकाएर १४ कार्टुन औषधि ल्याएको झापाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक दिनेशराज मैनालीले बताए ।

आइतबार जिल्ला प्रहरी कार्यालय झापामा ती सबै औषधि प्रहरीले सार्वजनिक गरेको छ ।बरामद भएका ८ प्रकारका औषधिमा ब्रेस्ट्रिम आयल, ओर्लिस्ट्याट क्याप्सुल, फ्लोमिस्ट नसल स्प्रे, केयरप्रोस्ट, अमाग्रा, जुरिग ८०, फोरडर्म र पि–फोर्स छन् । प्रहरीद्वारा मुख्य कारोबारी दाबी गरिएका लामाले ती औषधि काठमाडौँ लैजाने तयारी गरेको बुझिएको छ ।

बरामद गरिएको औषधि, पक्राउ परेका ४ व्यक्ति र औषधि ल्याउन प्रयोग गरिएका २ वटै साधनलाई औषधि व्यवस्था विभाग विराटनगरमा बुझाइने झापाका प्रहरी प्रवक्ता डिएसपी महेन्द्रकुमार श्रेष्ठले बताए । सरकारलाई कर नतिरी भित्र्याइएका यस्ता औषधि राजधानीका औषधि पसलमा छ्याप्छ्याप्ती पाइने गरेको पूर्वका औषधि व्यवसायीहरु बताउँछन् ।

Leave A Reply

Your email address will not be published.