News Portal

गृह मन्त्रालयले भन्यो,बारा–पर्सामा मृत्यु हुनेको संख्या २७ मात्र पुग्यो

काठमाडौं। सरकारले बारा र पर्साको विभिन्न स्थानमा हुरी बतासमा परी मृत्यु हुनेको संख्या २७ जना पुगेको पुष्टि गरेको छ। गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले सोमबार १२ बजेसम्म बारा र पर्साको विभिन्न स्थानमा हुरी र बतासमा परी ज्यान जानेहरुको संख्या २७ जना पुगेको पुष्टि भएको जानकारी दिएका हुन्।

गृह मन्त्रालयका पत्रकार सम्मेलन गरी उनले आइतबार साँझ आएको हुरी बतासमा परी बाराका २६ जना र पर्सामा १ जना गरी हालसम्म २७ जनाको ज्यान गएको बताए। हुरी बतासमा परी गम्भिर घाइते भएका ७ जनालाई नेपाली सेनाको हेलिकप्टरबाट काठमाडौं ल्याई शिक्षण अस्पताल, महाराजगंजमा उपचार सुरु गरिएको छ। गृह प्रवक्ता सुवेदीले सो घटनामा परी घाइते भएका ३ सय ७५ जनाको बारा र पर्सास्थित विभिन्न ७ वटा अस्पतालमा उपचार भइरहेको जानकारी दिए।

सरकारले सो घटनाको राहत तथा उद्दारका लागि सुरक्षा निकायका चार वटै अंगहरु परिचालन गरिएको जनाएको छ। प्रवक्ता सुवेदीले उनीहरुको राहतका लागि तत्काल काठमाडौंबाट सशस्त्र प्रहरी बलको ३ वटा ट्रकमा आवश्यक सामान पठाइएको जानकारी दिए।

राहत तथा उद्धारका लागि आवश्यक व्यवस्था गर्न प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्री एवम् स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादव, गृहमन्त्री रामबहादुर थापा, भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ बारा पुग्ने कार्यक्रम रहेको गृह मन्त्रालयले जनाएको छ।गृह मन्त्रालयका प्रवक्ता सुवेदीले सो घटनामा भएको धनजनको क्षति, त्यसको विवरण संकलन गर्ने कार्य सम्बन्धित जिल्ला विपत्त व्यवस्थापन समितिको नेतृत्वमा सुरु गरिएको जानकारी दिए।

Leave A Reply

Your email address will not be published.