News Portal

नेपालमा अहिले १८ वर्षमुनिका ७० प्रतिशत किशोरी बलात्कारको शिकार

ललितपुर । नेपालमा अहिले १८ वर्षमुनिका ७० प्रतिशत किशोरी बलात्कारको शिकार हुने गरेका छन् । नजीकको छिमेकी, आफन्त वा इष्टमित्रबाट उनीहरु बलात्कार शिकार हुने गरेको तथ्याङ्क महिला पुनस्र्थापना केन्द्र (ओरेक)ले सार्वजनिक गरेको छ ।

ओरेकले आज २८ औँ वार्षिकोत्सवका अवसरमा ‘महिला सशक्तीकरणका लागि महिला आन्दोलनका सवालहरु र अबको बाटो’ विषयमा आयोजना गरेको छलफल तथा सामाजिक लेखा परीक्षण कार्यक्रममा प्रतिनिधिसभा सदस्य पार्वती बिसुंखेले राज्यको निकायमा महिलाको प्रतिनिधित्व बढेमा महिला हिंसाको घटना न्यूनीकरण हुने विश्वास व्यक्त गरिन् । “भर्खरै देशको प्रशासनिक क्षेत्रमा महिला प्रतिनिधित्व बढ्दैछ”, विसुङ्खेले भनिन्, “ विसं २००४ मा नेपालमा राजनीति गर्ने एक महिला सहाना प्रधान, २०१५ सालमा द्वारिकादेवी ठकुरानी, २०५४ सालमा नेपालका एक हजार १२० महिला वडा सदस्य हुँदै हाल १४ हजार ३५२ महिला स्थानीय तहमा पुग्नुभयो, त्यसमा सरकारले एक दलित अनिवार्य गर्नाले सात हजार दलित महिलाले स्थानीय तहमा भूमिका निर्वाह गर्ने अवसर पाउनुभयो तर पनि संविधानको धारा ३८ को उपधारा ४ मा राज्यको हरेक निकायमा महिलाको अधिकार सुनिश्चित हुनुपर्छ भनिए तापनि महिला सहभागिता सुनिश्चितता भइसकेको छैन । ”

यदि महिलाले हरेक क्षेत्रमा अग्रणी भूमिका निर्वाह गर्ने अवसर पाएमा हिंसाको घटना घट्ने उनको विश्वास थियो । “हाल स्थानीय तहमा चुनिएका महिला क्षमतावान् छैनन् भन्ने कुरा सुन्न आएको छ । महिलालाई क्षमतावान् बनाउन लाग्नुपर्छ झन् आगोमा घिउ थप्ने काम गर्नुहुन्न”, उनले भनिन् ।

राष्ट्रिय महिला आयोगका सचिव अनिलकुमार ठाकुरले आयोगले ११४५ नामक सम्बोधन परियोजनामार्फत फागुनमा एक हजार ६ सय कललाई कानुनी परामर्श दिएको जानकारी दिए । “ आयोगमा पीडित र पीडक दुवैलाई बोलाएर २५ प्रतिशत मुद्दा मिलायौँ”, ठाकुरले भने, “अर्को वर्षदेखि हिंसा अन्त्यको लागि प्रदेशमा सम्बोधन परियोजना विस्तार गर्ने योजनामा अघि बढेका छौँ ।”

आयोगका निर्देशक मुरारी घिमिरले आयोगमा महिला अधिकृतको सङ्ख्या ४० प्रतिशत पुगेको जानकारी दिए । “आयोगले कर्मचारी महिलालाई पुरुषलाई भन्दा बढी सुविधा दिएको छ, त्यसैले भर्खरै आमा भएकाका लागि शिशु कक्षको व्यवस्था गरिसक्यौँ”, घिमिरेले भने, “महिलाको क्षमता अभिवृद्धिका लागि आयोगले विभिन्न काम अघि बढाएको छ, हरेक क्षेत्रमा अधिकार दिए तापनि हिंसा बढ्दै छ भन्ने कुराको जानकारी पाउन सकिएको छैन । ”

मानव अधिकारकर्मी गोपाल शिवाकोटीले बसाइँसराइको कारण महिलाको अवस्था झन् दयनीय बन्दै गएको जानकारी दिए । “मधेशलगायत थरुहट आन्दोलनमा थप महिला पीडित भएका छन्”, शिवाकोटीले भने ।

ओरेक नेपालका संस्थापक अध्यक्ष डा रेणु अधिकारीले जबसम्म महिलामा मेरो शरीर मेरो मात्र हो भन्ने आत्मविश्वास हुँदैन, तबसम्म हिंसा न्यूनीकरण हुँदैन भनिन् । “महिला स्वयं आत्मनिर्भरताको अधिकार स्थापित गर्न लागिपर्नुपर्छ ” उनले भनिन् । ओरेक नेपालका अध्यक्ष ज्योत्सना मास्केले महिलामा पूर्ण एकताको भावना विकास हुनुपर्ने बताए ।

ओरेक नेपालका कार्यकारी निर्देशक लुभराज न्यौपानेले नेपालमा ३० प्रतिशत महिला स्थानीय तहमा पुगेकामा तीमध्ये एक प्रतिशत वडाध्यक्ष भएको र झण्डै दुई प्रतिशत नगर प्रमुखमा उम्मेदवारी बढेकामा सकारात्मक पक्ष भएको बताए । “समाजमा महिलाको सहभागिता बढेसँगै गत वर्ष मात्र ६४ प्रतिशत महिला घरेलु हिंसामा परेको कुरा दुःखलाग्दो छ, उनले भने।

Leave A Reply

Your email address will not be published.