News Portal

आमा र श्रीमती गुमाएँ’तीन छोराछोरी जोगाएँ

वीरगन्ज | बारा भलुहीका ३० वर्षीय भीमदास तात्वाको काँधमा ६ वर्षमुनिका तीन छोरीछोरा स्याहार्ने जिम्मेवारी आइलागेको छ। ६ वर्षीया छोरी सन्ध्या, चार वर्षीया छोरी प्रियंका र १० महिनाका छोरा सञ्जितलाई श्रीमती रुना र आमा मोतीसरी देवीले स्याहारसुसार गर्दै आएका थिए। आइतबार सााँझको विनाशकारी हावाहुरी ती सासूबुहारीका लागि मृत्यु बनेर आइदियो। तीन सन्तान जोगाएका भीमले आमा र श्रीमती भने गुमाउनुपर्‍यो। यो खबर आजको नागरिक दैनिकमा प्रकाशित छ ।

भलुहीका स्थानीयले त्यस दिनको भयानक दृश्य बिर्सन सकेका छैनन्। साँझ छिप्पिँदै गर्दा उत्तर दिशातर्फ चर्को गड्याङगुडुङसँगै आकाशले पटकपटक क्यामराले झैं प्रकाश फालेको थियो। हावाले बिस्तारै गति लिँदै गर्दा सबैले गाईबस्तु, बाख्रा, खसी, हाँस, कुखुरा आआफ्ना घरमा पुर्‍याइसकेका थिए। जहानछोराछोरी लिएर गाउँलेहरू घरभित्र सुरक्षित हुन खोजे। त्यति बेला हावाको चाल ठीक छैन भन्ने भेउ भीमले पाइसकेका थिए। असिनाका मसिना दाना हावामा मिसिएर छरिन थाले। हावा अझ बढेपछि भीम डराए।

उनले दायाँबायाँ केही नसोची साना छोरा र दुई छोरीलाई डोर्‍याउँदै खाटमुनि पुर्‍याए। आमा र श्रीमती फर्किसकेका थिएनन्। उनको मन बेचैन भयो। बाहिर गएका दुवैजना फर्केर आए हुन्थ्यो भन्ने विचार गरिरहे। तीन अबोधलाई छाडेर खोज्न जाने अवस्था पनि भएन। एकै छिनमा पश्चिम दिशाबाट घुम्दै ठूलो भुमरी आएर गाउँलाई अस्तव्यस्त पार्न थाल्यो। उनी आफैं पनि खाटमुनि छिरे। थाम्न नसकिने आवाजसँगै एकाएक केही देख्न नसकिनेगरी अँध्यारोले झ्याप्पै छोपेकोसम्म उनलाई याद छ। त्यति बेला भएको धरतीको कम्पन पनि उनी अलिअलि सम्झन्छन्। पेसाले मिस्त्री उनले पिल्लर ढलान गर्ने क्रममा प्रयोग गरिने ‘भाइब्रेटर मेसिन’ सम्झे।

कम्पन्न, आवाज र अँध्यारो लिएर आएको थियो भुमरी। चट्याङको उज्यालोमा हेर्ने प्रयास गरे। घर ढलिसकेको देखे। असिनाका ठूला दाना बर्सिन थाले। चट्याङले अर्कोपटक उज्यालो फाल्दा उनले जीवनमा अँध्यारो छाइसकेको पाए। आफ्नै घरको ढलाने खम्बा भत्किएर आमाको पेटनिर छड गाडिएको उनले देखे। टाउकोमा खम्बाको टुक्रा बज्रिँदा श्रीमती अचेत भइसकेकी थिइन्। दुवै रगतको आहालमा डुबेका थिए। ‘बुवा काठमाडौंतिर, घरमा म एक्लै, आमा र श्रीमतीको अवस्थाले होसै हरायो। जसरीतसरी आफूलाई सम्हालेर दुवैलाई अस्पताल त पुर्‍याएँ तर डाक्टरले भने– दुवै मरिसके,’ उनले दुःखी हुँदै भने, ‘मेरो घर मात्र होइन, गाउँमा केही पनि साबिक अवस्थामा थिएन। मलालाई मात्र होइन, अरूलाई पनि बज्रपात भएको थियो।’

भीमका बाबु रामसुरत दास तात्वा भोलिपल्ट आइपुगे। सोमबार नै भलुही खोलामा सासू र बुहारीको सँगसँगै दाहसंस्कार भयो। बाबु रामसुरत र छोरा भीम दुवै किरिया बसेका छन्। सोही गाउँमा अर्का एक ६० वर्षीय पुरुष हरिदास तात्वाको समेत मृत्यु भएको छ। उनका छोरा राजेश दास पनि ती दुई बाबुछोरासँगै किरिया विधि पूरा गरिरहेका छन्। यस गाउँमा करिब ६५ वटा घर यहाँ नष्ट भएका छन्। ५० भन्दा बढी मानिस घाइते छन्। जितपुर सिमरा नगर उद्योग वाणिज्य संघले बुधबार बिहानदेखि गाउँमा सामूहिक भोजनको व्यवस्था गरेको छ। रामसुरत, भीम र राजेशले भने त्यस शिविरबाट खान सकेका छैनन्। काजकिरिया विधिका लागि बेग्लै चोखो खानुपर्ने हुन्छ। १० महिने छोरा सञ्जितले बाबु भीमलाई एक छिन छाड्न सकेका छैनन्। ‘लगातार रोइरहेको छ, आमा खोज्छ। जसोतसो सम्हाल्नुपरेको छ,’ भीमले भने, ‘यसको किस्मत पनि खराब छ।’ बाराका मर्नेको संख्या २८ पुगेको छ। घाइते ६ सयभन्दा बढी छन्। पाँच सयजति घर नष्ट भएका छन्। हजारौं बेघर भएका छन्।

Leave A Reply

Your email address will not be published.