News Portal

क्राइस्टचर्चस्थित दुईवटा मस्जिद आक्रमणका प्रमुख आरोपितको मानसिक स्वास्थ्य परीक्षण गराउन आदेश

न्यूजिल्यान्ड । न्यूजिल्यान्डको क्राइस्टचर्चस्थित दुईवटा मस्जिद गत महिना गरिएको आक्रमणका प्रमुख आरोपितको मानसिक स्वास्थ्य परीक्षण गराउन आदेश दिइएको छ।

मुद्दाको सुनुवाइका लागि मानसिक रूपमा उनी स्वस्थ्य रहे वा नरहेको अथवा विक्षिप्त रहेको कुराको विज्ञहरूले निर्क्योल गर्नुपर्ने उच्च अदालतका न्यायाधीश क्यामरुन म्यान्डरले बताए। मुख्य आरोपितमाथि ५० वटा हत्याको र ३९ वटा हत्याको प्रयास गरेको आरोप छ।

आरोपित अस्ट्रेलियाका २८ वर्षीय नागरिक ब्रेन्टन टारेन्ट भिडिओ लिङ्कमार्फत् देखिँदा पीडितका आफन्तहरू उपस्थित भएको अदालतको कक्ष खचाखच भरिएको थियो। आफूमाथि लगाइएका अभियोगविरुद्ध उनले निवेदन दिन पाएनन्।

न्यूजिल्यान्डमा भएको त्यो अहिलेसम्मकै सबैभन्दा ठूलो आक्रमण थियो। न्यूजिल्यान्डकी प्रधानमन्त्री जसिन्डा आर्डर्नले त्यसलाई न्यूजिल्यान्डको कालोदिन मध्येको एउटा भएको बताउने गरेकी छन्।उनले खबै खाले अर्धस्वचालित अस्त्र र राइफलहरूमाथि प्रतिबन्ध लगाउने प्रतिबद्धता जनाएकी छन्।

अदालतमा के भयो?
शुक्रवार बिहान न्यायाधीश म्यान्डरले आरोपितको स्वास्थ्य अवस्थाबारे निर्क्योल गर्न दुईवटा काम गरिने बताए। आरोपितले ध्यानपूर्वक अदालतको सानो सुनुवाइ सुनेका थिए। तर उनले कुनै प्रतिक्रिया जनाएनन्।
उनले न्यायाधीश र वकिललाई हेर्न सकेका थिए र सुनुवाइलाई सुन्न सकिरहेका थिए।

तर अदालतमा सर्वसाधारण बस्ने स्थानबाट क्यामेरा अन्यत्र फर्काइएको थियो। न्यायाधीशले उनलाई हिरासतमै राखिराख्न आदेश दिए र उनी जुन १४ मा फेरि अदालत उपस्थित हुनेछन्।

Leave A Reply

Your email address will not be published.