News Portal

शैलुङ्ग महोत्सवको उद्घाटन प्रधानमन्त्री ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गर्ने

दोलखा । नेकपाका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सैलुङ्ग आउने भएका छन् । प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्ड सैलुङ्ग महोत्सवको उदघाटन गर्न सैलुङ्ग आउने भएका हुन् । दोलखाको शैलुङ्क र मेलुङ गाउँपालिका र रामेछापको दोरोम्वा गाउँपालिका द्धारा द्धारा आगामी वैशाख १३, १४ र १५ गते हुने महोत्सवमा प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्ड सहभागी हुने कार्यक्रम तय भएको शैलुङ्क गाउँपालिका प्रमुख भरत दुलालले जानकारी दिए । यता दोरम्बा गाउँपालिकाका अध्यक्ष कमानसिंह मोक्तानले महोत्सवको तयारी तीब्र गतिमा अगाडि बढाइएको बताए । उनले मध्यान्ह दैनिक सँग भने,‘सहकार्यलाई अगाडि बढाउदै तीन गाउँपालिकाले संयुक्त रुपमा शैलुङ महोत्सव आयोजना गरेका छौ ।’

दोरम्बा गाउँपालिकाले चैत्र २९,३० र वैशाख १ गते गरी तीन दिन सैलुङ्ग महोत्सव गर्ने कार्यक्रम घोषणा गरेर तयारी अगाडि बढाएको थियो । तर सैलुङ्ग गाउँपालिकाले आपत्ति जनाएपछि दोरम्बा गाउँपालिकाले लचलकता अपनाउदै शैलुङ्ग र मेलुङ गाउँपालिकालाई पनि आयोजकको रुपमा समावेश गरेर महोत्सव गर्ने भएको अध्यक्ष मोक्तानले बताए । शैलुङ महोत्सवमा सहभागी हुने कलाकारहरुको समेत टुंगो आयोजकले लगाइसकेको छ । दोरम्बा गाउँपालिकाका जनप्रतिनिधि महोत्सव सफल बनाउने कार्यमा जुटेका छन् । एक सय वटा थुम्का रहेको शैलुङ्ग रामेछाप र दोलखाको सिमाना हो । धार्मिक, सांस्कृतिक, ऐतिहासिक र प्राकृतिक रुपमा धनी शैलुङ्गमा पछिल्लो समय आन्तरिक एवं बाह्य पर्यटकको संख्या ह्वातै बढेको आयोजकले जनाएको छ ।

शैलुङलाई पर्यटकीय हिसाबले विकास गर्न भनी दोरम्बा गाउँपालिकाले महोत्सवको तयारी तिब्र पारेसँगै आपसका गाउँपालिकाले समेत चासो दिएका थिए । सुरुवाती चरणमै एकापसमा सहकार्यको लागि पहल नगरेको भन्दै गाउँपालिकाबीच भएको असमझदारी सामाजिक सञ्जालसम्म पुगेको थियो । त्यसपश्चात गत चैत १६ गते रामेछाप र दोलखाका संघीय सांसद, प्रदेशसभा सांसदहरू, शैलुङ, मेलुङ तथा दोरम्बा गाउँपालिकाका अध्यक्षहरू सहितका जनप्रतिनिधिको छलफलले संयुक्त महोत्सव मनाउने सहमति जुटेको हो ।

आगामी वर्ष शैलुङले कालापानीमा र अर्को वर्ष मेलुङले फुर्केसल्लामा महोत्सवको आयोजना गर्ने सहमति भएको छ, शैलुङ गाउँपालिका अध्यक्ष भरतप्रसाद दुलालले भने– ‘महोत्सव गर्दा सम्बन्धित गाउँपालिका बढी बजेट विनियोजन गर्ने र २ साझेदार पक्षले ५र५ लाख खर्च व्यहोर्ने सहमति भएको छ ।’ यस वर्षको मूल आयोजक समिति बनेसँगै प्रत्येक वर्ष आयोजक गाउँपालिकाका अध्यक्षले महोत्सवको अध्यक्षता गर्ने र अरु दुई गाउँपालिकाका अध्यक्षहरुले कार्यक्रम संचालन र स्वागत गर्ने जिम्मेवारीमा सहमति भएको अध्यक्ष मोक्तानले बताए ।

शैलुङले कालापानी क्षेत्रमा यसै वर्षदेखि होटल, होमस्टे र पर्यटनसँग सम्बन्धित व्यवसाय गर्न अनुदान दिने व्यवस्था गरिएको शैलुङ्ग गाउँपालिकाको अध्यक्ष दुलालले बताए । महोत्सवमा शैलुङ सभ्यताका चिनारीलाई विश्वसामु थप परिचित गराउन लागिएको हो । शैलुङ यसअघि पनि आन्तरिक तथा बाह्य पर्यटकको मुख्य आकर्षक गन्तव्य हो । शैलुङलाई चिनाउने चौरी, याक, १०८ थुम्का, पद्य्मसम्भवका पद्चापका चिन्ह, शैलुङश्वरी महादेव, बाघढुङ्गा, जार काट्ने तरबार, विभिन्न प्रजातिका लालीगुराँस, सूर्योदय र सूर्यास्तका मनोरम दृश्य, गौरीशंकर, सगरमाथा, बौद्ध चैत्य लगायत महोत्सवका मुख्य आकर्षण रहने आयोजकले जानकारी दिएका छ्न । शैलुङ क्षेत्र समुद्री सतहबाट ३१४५ मीटरको उचाईमा रहेको छ । काठमाडौंदेखि अरनिको राजमार्गको मुडेबजार हुँदै करिब १३२ किलोमीटरको यात्रापछि पुग्न सकिन्छ । धुलिखेलबाट दोरम्बाको खोलाखर्क र मेलुङबाट समेत पुग्न सकिन्छ ।

Leave A Reply

Your email address will not be published.