News Portal

डा. गोविन्द केसीकाे मुद्दामा कांग्रेस पानीमाथिको ओभानु भयो

काठमाडौं : विवेकशील साझा पार्टीले अनसनरत डा. गोविन्द केसीका मागमा कांग्रेसले आन्दोलन गर्नु पानीमाथिको ओभानु बन्नुमात्र भएको टिप्पणी गरेको छ । केसीको जीवन रक्षाको माग गर्दै बिहीबार विवेकशील पार्टीले विज्ञप्ति सार्वजनिक गर्दै कांग्रेसमाथि यस्तो आरोप लगाएको हो ।

‘अहिले नेपाली काँग्रेस पानीमाथिको ओभानो बन्न खोज्नुको कुनै अर्थ छैन। डा केसीका १५ मध्ये ७ वटा अनसन नेपाली कांग्रेस नेतृत्वकै सरकारको पालामा भएका थिए र सबैभन्दा लामो २३ दिनको अनसन पनि नेपाली कांंग्रेसकै सभापति शेरवहादुर देउवाको प्रधानमन्त्रीत्वकालमा भएको थियो’, प्रवक्ता सूर्यराज आचार्यले सार्वजनिक गरेको विज्ञप्तिमा भनिएको छ।

विवेकशील पार्टीले केसीको आन्दोलन अहिलेसम्मको अवस्थामा आउनुमा सत्तापक्ष र प्रतिपक्ष दुवै जिम्मेवार रहेको बताएको छ । ‘वर्तमान स्थिति आउनमा अहिलेका सत्ताधारी दलहरू जति जिम्मेवार छन् त्यत्ति नै जिम्मेवार प्रमूख प्रतिपक्षी नेपाल कांग्रेस पनि छ। उदारीकरणका नाममा कसिलो नियमन विना नै शिक्षा र स्वास्थ्यजस्ता अत्यन्तै गम्भीर र संवेदनशील विषयलाई निजीकरण गरेर त्यसलाई नाफा–खोर व्यापारीहरूको हातमा पुर्याउने कार्यमा विगतमा नेपाली काँग्रेसको सरकारको प्रमूख भूमिका थियो’, विज्ञप्तिमा भनिएको छ, डा केसीको जीवन तलमाथि भएको खण्डमा मूलरूपमा सत्ताधारी दल र विगतमा उनका मागहरू सम्बोधन गर्न नसक्ने प्रमूख प्रतिपक्षी दल एकजना सत्याग्रहीको जीवन समाप्त पारेको दोषबाट मुक्त हुने छैनन्।’

विवेकशीलले केसीको जीवन रक्षा अहिलेको प्रधान विषय भएको उल्लेख गरेको छ । सरकारले केसीका मागप्रति अनुदार बनेर रबैया देखाएको आरोप विवेकशीलको छ। उसले शिक्षा र स्वास्थ्य राज्यको दायित्व भएकोतर्फ समेत सरकारलाई सचेत गराएको छ ।

‘सत्याग्रही डा गोविन्द केसीको अनसन त्यस्तो विन्दूमा पुगेको छ जहाँ उनको जीवनरक्षा सबैभन्दा प्रधान विषय बनेको छ। समाजवादको एउटा प्रमूख खम्बा नै स्वास्थ्यसेवालाई राज्यको दायित्वको रूपमा ग्रहण गर्नु हो। तर त्यही मागका लागि १५ पटक अनसन बसिसकेका डा केसीप्रति आफूलाई समाजवादी भन्ने सरकारले जस्तो रवैया प्रस्तुत गरेको छ, त्यसले अपराधको रेखा छुन आँटेको छ। यसै शिलशिलामा, सरकारले देखाएको दम्भ र अमानवीय बल प्रयोग निन्दनीय छ,’ विज्ञप्तिमा थप भनिएको छ, ‘‘कल्याणकारी लोकतन्त्र’लाई पार्टीको मूल दर्शनका रूपमा अपनाएको विवेकशील साझा पार्टी, शिक्षा र स्वास्थ्य क्षेत्र राज्यको दायित्व हो भन्नेमा विश्वास गर्दछ। विवेकशील साझा सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र प्रमुख प्रतिपक्षी नेपाली काँग्रेस दुबैलाई शिक्षा र स्वास्थ्य राज्यको दायित्व हो भन्ने स्विकार्न चुनौती दिन्छ। र, त्यसतर्फको प्रारम्भिक कदमका रूपमा डा केसीले विपन्न नेपालीले पनि चिकित्सा शिक्षा र सेवामा पहुँच पाउनु पर्छ भनि राखेको माग पुरा गर्न आह्वान गर्दछ। नेपाल कम्युनिस्ट पार्टी सरकारमा रहेकोले हाललाई त्यसको मूख्य दायित्व उनीहरूमैं निहित रहन्छ तर कम्युनिस्ट पार्टीजस्तै आफूलाई समाजवादी भन्ने नेपाली काँग्रेस पनि सो दायित्वबाट भाग्न सक्दैन

Leave A Reply

Your email address will not be published.