News Portal

जहाँ केटाले मन पराएपछि जबरजस्ती तानेर हुन्छ बिहे

बैशाख ४ काठमाडौं। ‘केही दिनअघिको घटना हो, राति साढे ९ जति बजेको थियो होला । बहिनी र म गफ गर्दै सुतिरहेका थियौं। एक्कासि कसैले ढोका ढक्ढक्यायो ।

हामी आत्तियौं । मैले डराई–डराई ‘को हो’ भनें । बाहिरबाट केटा मान्छेले ‘म हो, रक्सी खान आएको’ भन्यो । ‘हाम्रो त रक्सी बेच्ने घर होइन’, भनें । ‘माथिल्लो घरको दाइ हो क्या म, ढोका खोल्’ भन्यो ।

अनि मैले बिस्तारै ढोका खोलेर हेरेको मात्र थिएँ, क्य्राक गाउँको केटा रहेछ । घरभित्र छिर्‍यो र मेरी बहिनीलाई जबरजस्ती तानेर बाहिर लग्यो । बाहिर उसको गाउँका केटा टन्नै रहेछन् । त्यसपछि मैले आमा र भाइलाई बोलाएँ । हामीले यतातिर, उनीहरूले उता तिर, एकछिनसम्म बहिनीलाई तानातान भयो । भर्खरसम्म सँगै सुतिरहेकी बहिनीलाई उनीहरूले तानेर लगे ।

आमा र भाइ धेरै टाढासम्म पछिपछि गएर केके समझदारी गरेर बहिनीलाई छुटाएर ल्याए । अहिले बहिनी भागेर काठमाडौं गएकी छ । उतै काम खोज्दै होली ।’

ह्यास ट्याग मीटु प्रयोग गर्ने दुनियाँलाई यो एकादेशको कथा जस्तो लाग्न सक्छ । तर, यो राजधानी बाट १४२ किलोमिटर पर गोरखाका ५० देखि ५५ कोस टाढा रहेका हिमाली गाउँको ताजा घटना हो।

लामो समय लेबनान बसेर फर्केकी सोही ठाउँकी अर्की किशोरीलाई पनि केही समयअघि यसैगरी स्थानीय एक युवाले तानेर लगे । उनी उम्केर भाग्न सकिनन् । केही दिन सम्म घर भित्रै थुनिएर बस्नुपर्‍यो ।

अनि दाजुभाइको साझा दुलही भइन् । घरबाट भाग्ने मौका पाएपछि काठमाडौं गइन् । उतैबाट विदेश लागिन् । उनीहरूको मात्र पनि होइन, उत्तरी गोरखाका दुई दर्जन गाउँबस्तीका चेलीसँग यस्ता दर्दनाक कथाव्यथा छन् ।

चुमनुब्री गाउँपालिकाअन्तर्गत साबिकका बिही, प्रोक, ल्हो, सामागाउँ, सिर्दिबास क्षेत्रमा जबरजस्ती तानेर बिहे गर्ने परम्परा पुस्तौंदेखि कायम छ। चिनेको होस् वा नचिनेको होस्, मन परेको होस् वा नपरेको होस्, केटाले मन पराएपछि जबरजस्ती तानेर दुलही बना उने चलन रहेको वडा नम्बर ४ का अध्यक्ष पेमाडुण्डुप लामा बताउँछन्।

‘यस्तो चलन बिहीमा अल्लि बढी छ प्रोकमा पनि छ । अलिअलि त ल्हो, सामागाउँ र सिर्दिबासमा पनि छ’, उनले भने, ‘यो राम्रो चलन होइन, हटाउनुपर्छ ।’ यसबारे आफूले जन चेतना जगाउने उनको भनाइ छ ।अन्नपूर्ण पोस्टबाट

Leave A Reply

Your email address will not be published.