News Portal

आउँदो असारदेखि पाइपलाइनबाटै तेल भित्र्याइँदै,वार्षिक २ अर्ब भाडा बचत हुने

बैशाख १० सिमरा। आउँदो असार महिनाभित्रै नेपाल आयल निगमले पाइपलाइनबाट नै तेल ल्याउने गरी काम तीब्र रुपमा गरी रहेको छ । नेपाल आयल निगमको अमलेखगञ्ज डिपोमा पाइपलाइनबाट तेल भित्र्यान तीब्र रुपमा काम भइरहेको छ ।

भारतीय सीमानादेखि अमलेखगञ्जसम्म ३६ किलोमिटरमध्ये ३१ किलोमिटरसम्म पाइपलाइन बिछ्याउने काम पूरा भएको मोतीहारी–अमलेखगञ्ज परियोजना कार्यालयका प्रमुख समेत तथा अमलेखगञ्ज आयल निगमका प्रमुख इन्जिनियर प्रदीप यादवले जानकारी दिएका छन् ।

पाइपलाइन रुटभित्र परेको पर्सा राष्ट्रिय निकुञ्जको साढे ५ किलोमिटर जङ्गल क्षेत्रका रूख कटान भइसकेको र अब साढे ३ किलोमिटर जङ्गल क्षेत्रको रूख मात्र काट्न बाँकी रहेको उनले जानकारी दिएका छन् ।अहिलेसम्म ५ किलोमिटर पाइपलाइन मात्र गाड्न बाँकी छ । वैशाख महिनाभित्र पाइपलाइन गाड्ने काम सकिने उनले बताएका छन् । ‘जेठ महिना टेस्टिङ गर्नमै लाग्छ,’ उनले भने, ‘असारबाट पाइपलाइनबाटै तेल भित्रिन्छ ।’

अहिले भइरहेको कामको गतिअनुसार असारबाटै तेल भित्रिने अनुमान गरिएको यादवले जानकारी दिए । उनका अनुसार अबको १५ दिनभित्र रूख काटेर रुट क्लियर गरिने छ ।

वैशाखभित्र पाइप गाड्ने काम पूरा हुनेछ । रूख कटानसँगै पाइपलाइन वेल्डिङ गर्ने र गाड्ने काम पनि भइरहेको मोतीहारी–अमलेखगञ्ज परियोजना कार्यालय सिमराका इन्जिनियर शरद पौडेलले बताएका छन् ।

 वन क्षेत्र भएकै कारण पथलैया–अमलेखगञ्ज निकुञ्ज क्षेत्रमा पाइपलाइन गाड्ने काम ३ महिना पछाडि धकेलिएको परियोजनाका अधिकारीले बताए ।

संघीय सरकारको मन्त्रिपरिषद्ले गत माघ ३ गतेको बैठकको निर्णयअनुसार पर्सा राष्ट्रिय निकुञ्ज कार्यालय आधाभार बाराले निकुञ्ज क्षेत्रको रूख काटेर पेट्रोलियम पाइपलाइन गाड्ने अनुमति दिएको थियो ।अनुमति पाएपछि परियोजनाका अधिकारीले अमलेखगञ्ज आयल निगमभन्दा दक्षिण क्षेत्रको झाडी सफा गरेर १० दिनदेखि पाइपलाइन गाड्ने काम शुरु गरेका थिए ।

त्यही क्रममा पुरानो ठेकेदारले ठेक्का लिन पेस गरेको कागजात फर्जी देखिएपछि उक्त ठेक्का दोस्रो ठेकेदारले पाएका थिए । उनले पनि प्रक्रिया पूरा गरेर काम शुरु गर्दा अझ केही दिन ढिलो हुन गएको जानकारी दिएका छन् ।

मोतीहारी–अमलेखगन्ज पाइपलाइनको दूरी ६९ किलोमिटर रहेको नेपाल आयल निगम अमलेखगञ्ज डिपोले जनाएको छ । ३२ दशमलव २० किलोमिटर पाइपलाइन भारतीय क्षेत्रमा र ३६ दशमलव २० किलोमिटर पाइपलाइन नेपाली क्षेत्रमा पर्छ ।भारतको रक्सौलदेखि पथलैयासम्म पर्ने २७ किलोमिटर दूरीमा पाइपलाइन गाड्ने काम वैशाखअगाडि नै सम्पन्न भइसकेको छ । निकुञ्ज क्षेत्रबाहिरको ६० किलोमिटर दूरीमा पाइपलाइन गाड्ने काम सम्पन्न भइसकेको छ ।

पथलैयादेखि अमलेखगन्जसम्मको निकुञ्ज क्षेत्रको पाइपलाइन गाड्ने रुटबाट ८ वटा ब्लकमार्फत ६ हजार ५ सय ६३ वटा रूख तथा पोल काटिंदैछ । यस्तै उक्त रुटबाट ८१ हजार ६ सय पोथ्राहरूको कटान, मुछान, ढुवान, पाइलिङ, घाटगद्दी, जरा उखेल्नेलगायतका काम भइरहेको बीआर सप्लायर्सका सञ्चालक विदुरकुमार विष्टले जानकारी दिएका छन् ।

Leave A Reply

Your email address will not be published.