News Portal

पुनर्निर्माण सक्न थप ४ खर्ब २९ अर्ब बजेट चाहिने,निजी आवास पुनर्निर्माणमा ८० प्रतिशत उपलब्धि

बैशाख १० काठमाडौं। राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले निजी आवास पुनर्निर्माणमा ८० प्रतिशत उपलब्धि हासिल भएको जनाएको छ । मंगलबार आयोजित पत्रकार सम्मेलनमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील ज्ञवालीले उक्त  जानकारी दिएका हुन।

अनुदान सम्झौता गरेका ७ लाख ६२ हजार ३०७ घरपरिवार मध्ये ६ लाख १२ हजार ९३५ घर पुनर्निर्माणको प्रक्रियामा सहभागी रहेकाे प्राधिकरणले जानकारी दिएको छ ।

यस्तै  ५० प्रतिशत अर्थात ३ लाख ८२ हजार २७७ परिवारले घर बनाइसकेको र ३० प्रतिशत अर्थात २ लाख ३० हजार ५५८ परिवार निजी आवास पुनर्निर्माणको क्रममा रहेकाे  प्राधिकरणले  जनाएको छ ।

जोखिममा परेका वर्ग र असुरक्षित स्थानमा रहेका परिवारलाई सुरक्षित जग्गा उपलब्ध गराउने व्यवस्था समेत मिलाएको भन्दै ज्ञवालीले भूमिहीन, स्ववासीलगायतको समस्या पनि समाधान गर्ने क्रममा रहेको बताएका छन् । यस्तै भूकम्पबाट ७ हजार ५५३ विद्यालय क्षति भएकोमा निर्माण सम्पन्न र निर्माणाधीन गरी ८३ प्रतिशत प्रगति भएको सीईओ ज्ञवालीले जानकारी दिए ।

यस्तै स्वास्थ्य संस्थातर्फ ६६ प्रतिशत, पुरातात्विक महत्वको सम्पदातर्फ ५९ प्रतिशत, सुरक्षा निकायका भवनहरु ५६ प्रतिशत पुनर्निर्माण सम्पन्न भएको छ ।प्राधिकरणले पुनर्निर्माण र पुनर्स्थापनाको कार्यहरु सम्पन्न गर्न सबैभन्दा ठूलो चुनौति वित्तीय व्यवस्थापन देखिएको जनाएको छ ।

पुनर्निर्माण र पुनर्स्थापनाको पञ्चवर्षीय योजनामा समग्र लागत ९ खर्ब ३८ अर्ब आँकलन गरिएकोमा आर्थिक वर्ष ०७४–०७५ मा कूल १ खर्ब ८६ अर्ब रकम खर्च भएको छ ।

यस्तै चालू आर्थिक वर्षमा जम्मा १ खर्ब २३ अर्ब खर्च गर्ने परिमार्जित लक्ष्य लिइएको सीईओ ज्ञवालीले जानकारी दिए । पुनर्निर्माण कार्य सम्पन्न गर्न करीब ४ खर्ब २९ अर्ब थप रकम आवश्यक पर्ने प्राधिकरणले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.