News Portal

आजबाट बर्खे अधिवेशन शुरु हुँदै, सांसदहरु राजधानी आइसके

संघीय संसदकाे चौंथो अधिवेशन

बैसाख १६ काठमाडौंं। संघीय संसद्का दुवै सदनको चौथो (बर्खे) अधिवेशन आजबाट शुरु हुँदैछ । गत ८ वैशाखमा राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्को तल्लो सदन प्रतिनिधिसभा र माथिल्लो सदन राष्ट्रिय सभाको चौथो अधिवेशन सोमबारदेखि शुरु हुने आह्वान गरेकी थिइन् । राष्ट्रपतिबाट आह्वान भएपछि बजेट अधिवेशनका रूपमा चल्ने चौथो अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको संसद् सचिवालयले जनाएको छ ।

सोमबार अपराह्न ४ बजेका लागि आह्वान गरिएको दुवै सदनको बैठकमा सहभागी हुने सांसद राजधानी आइसकेका छन् । गत १० चैतमा तेस्रो अधिवेशन सकिएपछि सांसदहरु आ–आफ्नो निर्वाचन क्षेत्रमा जनताका समस्या बुझ्न र आगामी वर्षका योजनाको विषयमा छलफल गर्न जिल्ला पुगेका थिए । राष्ट्रिपतिले अधिवेशन आह्वान गरेपछि संसद्मा राष्ट्रिय दलको मान्यता पाएका चार दलले आ–आफ्ना दलका दर्फबाट संसद्मा प्रतिनिधित्व गर्ने सांसदलाई सहभागिताका लागि आह्वान गरेका थिए ।

नेपालको संविधानमा सरकारको सिफारिसमा राष्ट्रपतिबाट संघीय संसद्को अधिवेशन आह्वान र अन्त्य गर्ने व्यवस्था छ । सरकारले आगामी आर्थिक वर्ष २०७६–७७ को नीति तथा कार्यक्रम आगामी २० वैशाखमै प्रस्तुत गर्ने गरी तयारी गरिरहेको छ । संविधानमै व्यवस्था भएअनुरूप सरकारले वार्षिक बजेट १५ जेठमा प्रस्तुत गर्नुपर्ने व्यवस्था छ ।

चौथो अधिवेशनमा राष्ट्रियसभामा आठ विधेयक प्रस्तुतिको तयारी छ । चार विधेयक राष्ट्रियसभामै उत्पन्न भएका हुन् । सभामै उत्पन्न भएका विधेयकमा विज्ञापन नियमन, ज्येष्ठ नागरिक (पहिलो संशोधन), नागरिक लगानी कोष र प्रशासकीय अदालतसम्बन्धी विधेयक छन् । यसैगरी राष्ट्रियसभामा तेस्रो अधिवेशन समापनका दिन गत चैत १० गते दर्ता भएको प्रमाण र सङ्घ, प्रदेश र स्थानीय तह (अन्तर सम्बन्ध व्यवस्थापन) विधेयक रहेको राष्ट्रियसभाको विधि व्यवस्थापन महाशाखा प्रमुख मनोजकुमार गिरीले जानकारी दिए ।

यसैगरी राष्ट्रियसभामा विचाराधीन अवस्थामा रहेका दुई विधेयक छन् । खेलकूद विधेयक विधायन व्यवस्थापन समितिमा विचाराधीन छ । यसैगरी प्रतिनिधिसभाबाट पारित भई आएको राहदानी विधेयक विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित सभामै विचाराधीन अवस्थामा रहेको महाशाखा प्रमुख गिरीले बताएका छन् ।

राहदानी विधेयक गत असोज ११ गते प्रतिनिधिसभाबाट राष्ट्रियसभामा आएको हो । नेपालको संविधान २०७२ को धारा १११ को उपधारा (५) मा प्रतिनिधिसभाबाट पारित भई राष्ट्रियसभामा गएको विधेयक दुई महीनामा पारित हुनुपर्ने व्यवस्था छ । दुई महिनामा पारित नगरे प्रतिनिधिसभाले टुङ्गो लगाउन सक्ने अधिकार छ । हालसम्म प्रतिनिधिसभाले यस सम्बन्धमा कुनै निर्णय गरेको छैन ।

Leave A Reply

Your email address will not be published.