News Portal

राष्ट्रपति विद्यादेवी भण्डारीलाई बेइजिङमा उच्च सम्मान, पारवहन प्रोटोकलमा हस्ताक्षर

वैशाख १७ बेइजिङ।चीन भ्रमणमा रहेकी राष्ट्रपति विद्यादेवी भण्डारीलाई चीन सरकारले सोमबार राजकीय सम्मान प्रदान गरेको छ । राष्ट्रपति भण्डारीलाई ग्रेट हल अफ द पिपुल्सको पूर्वी गेटको परिसरमा सम्मान दिइएको हो ।

यस अवसरमा चिनियाँ नेताहरू तिङ् सुएस्याङ, याङ च्ये छ, वु वैह्वा, वाङ यी, स्या पाओलोङ, ह लिफङ लगायत सहभागि थिए । स्वागतमा दुवै मुलुकको राष्ट्रिय धुन बजाइएको थियो । दिइएको थियो ।

राष्ट्रपति भण्डारीसमक्ष चिनियाँ सेनाले सम्मान गरेको थियो । उनले सेनाको एक समूहको अवलोकन गरेकी थिइन् । सैनिक सम्मानपछि चिनियाँ बालबालिकाले राष्ट्रपति भण्डारीलाई स्वागत गरेका थिए ।

पारवहन प्रोटोकलमा हस्ताक्षर

राष्ट्रपति भण्डारी तथा चिनियाँ समकक्षी सी चिनफिङबीच सोमबार ‘ग्रेट हल अफ द पिपुल्स’मा द्विपक्षीय बैठकपछि नेपाल–चीनका विभिन्न सम्झौतामा हस्ताक्षर भएको छ ।

पहिलो हस्ताक्षर पारवहन तथा यातायात सम्झौता कार्यान्वयनको सहमतिमा भएको थियो । नेपाल र चीनबीच पारवहन प्रोटोकलमा हस्ताक्षर भएको छ । प्रोटोकल सम्झौतामा नेपालकातर्फबाट परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञावाली र चीनका तर्फबाट उनका समकक्षी लि छियाङपेङले हस्ताक्षर गरे ।

यससँगै नेपालले चीनको चार वटा समुन्द्री र तीनवटा सुख्खा बन्दरगाह प्रयोग गर्न पाउनेछ । यसपछि तेस्रो मुलुकबाट हुने आयातका लागि भारतीय बन्दरगाहमाथि परनिर्भरता अन्त्य हुनेछ ।

आर्थिक तथा प्राविधिक सहयोग सम्झौता तथा नेपालको उत्तरी क्षेत्रमा जीविकाका क्षेत्रमा सहयोग सम्बन्ध सबलीकरणका विषयमा अर्थ मन्त्रालयका सचिव लालशङ्कर घिमिरे र चाइना इन्टरनेशनल डेभलपमेण्ट कोअपरेशन एजेन्सीका वाङ सिआवतावले हस्ताक्षर गरे । भन्सारका विषयमा आपसी प्रशासनिक सहयोगमा सचिव घिमिरे तथा नेपालका लागि चिनियाँ राजदूत होउ याङ्छीले हस्ताक्षर गरेका थिए ।

नेपाल गुणस्तर विभाग तथा ‘स्ट्याण्डर्ड एण्ड मेट्रोलोजी एण्ड स्ट्याण्डर्डाइजेशन एडमिनिष्ट्रेशन अफ चाइना’बीच सहयोगका सहमति पत्रमा चीनका लागि नेपाली राजदूत लीलामणि पौड्याल तथा नेपालका लागि चिनियाँ राजदूत होउले हस्ताक्षर गरेका छन् । सांस्कृतिक सम्पत्तिको चोरी, गोप्य उत्खनन, गैरकानूनी आयात तथा निर्यात प्रतिबन्ध लगाउने सम्झौतामा राजदूत पौड्याल र चीनको ‘एडमिनिष्ट्रेशन अफ नेशनल कल्चरल हेरिटेज’का लियु युझुले हस्ताक्षर गरेका थिए ।

Leave A Reply

Your email address will not be published.