News Portal

भेनेजुएलामा सेनाले गुडायो आन्दोलनकारीमाथि बख्तरबन्ध गाडी

एजेन्सी, १८ बैशाख । भेनेजुएलाका जारी राजनीतिक संकट नयाँ चरणमा प्रवेश गरेको छ । अमेरिकी विदेश मन्त्री तथा विपक्षी नेता खुवान गोइदोले राष्ट्रपति निकोलास मदुरोले देश छोड्ने तयारी गरिरहेको दावी गरेकै दिन मदुरोले टेलिभिजन सम्बोधन गरि सैन्य कु असफल पारेको दावी गरेका छन् । उनको सम्बोधन पछि आन्दोलन थप चर्किएको छ । आन्दोलनकारीलाई सेनाका बख्तरबन्द गाडीले किचेर मारिदिएको छ ।

भेनेजुयलामा गत जनवरीको सुरुवातमा भएको निर्वाचन पछि राजनीतिक संकट सुरु भएको हो । विपक्षी दलका नेतालाई थुनामा राखेर गरिएको चुनावको बैधानिकतामा प्रश्न उठिरहँदा गत जनवरी २३ मा निकोलस मदुरोले दोस्रो कार्यकालको सपथ लिएपछि विपक्षी नेता खुवान गोइदोले त्यसलाई अबैधानिक भन्दै आफूलाई अन्तरिम राष्ट्रपति घोषणा गरेका थिए ।

दुबैका विपक्षी नेता गोइदोको पक्षमा नागरिक समर्थन थियो भने मदुरोको पक्षमा नागरिकका साथमा सेना पनि उभिएपछि गोइदोले बैधानिकता पाउन सकिरहेका छैनन् । त्यसयता भेनेजुएलामा राजनीतिक संकट झनझन गहिरिँदै गएको हो ।

राजनीतिक संकट अहिले नयाँ चरणमा देखिएको छ । विपक्षी नेता गोइदोले देशको सेनासँग मादुरोको शासन अन्त्यका लागि सहयोग गर्न अपिल गरेका छन् भने राष्ट्रपति निकोलश मादुरोले टेलिभिजन संबोधन गरि विपक्षी नेता खुवान गोइदोले गरेको सैन्य कू को प्रयास असफल पारेको भन्दै मनोबैज्ञानिक जीतको दावी गरेका छन् ।

राष्ट्रपतिको संबोधन पछि विपक्षीहरु अझ धेरै आक्रोसित हुँदै आन्दोलन चर्काएका छन् भने मदुरो समर्थक सेनाले राजधानी कराकसको डकमा विपक्षी आन्दोलनकारीलाई बख्तरबन्ध गाडीले किचिदिएको छ । हताहतीको आधिकारिक विवरण सार्वजनिक भइसकेको छैन तर, धेरैको हताहत भएको अनुमान भने भइरहेको छ ।

रोचक पक्ष त के छ भने अमेरिका, युरोपिएन युनिएनसहितका विश्वका धेरैजसो देश विपक्षी गोयदोको पक्षमा उभिएका छन् भने, चीन रुससहितका केही राष्ट्रमात्र मदुरोको पक्षमा छन् । त्यस बाहेकका धेरै देश पक्षविपक्षमा तथा तटस्थ छन् भने नेपालसमेत यस मामिलामा विवादित बनेको थियो ।

सेनाले मदुरोलाई समर्थन गरेका कारण मात्र उनी सत्तामा छन् तर, त्यही सेनाको प्रयोगबाट सैन्य कु को प्रयास भएको भनेर मदुरोले आफ्नो संबोधमा पनि भनिरहेका छन् । भेनेजुएला मामिलामा अमेरिकी विदेश मन्त्रीले माइक पेम्पेओले समेत अमेरिकी टेलिभिजन नेटवर्क सीएनएनमार्फत केही तथ्यहरु सार्वजनिक गरेका छन् ।

विपक्षी नेता गोइदो पक्षले मादुरोको ‘इनर सर्कल’का तीन सदस्यले उनलाई सत्ताबाट हटाउने पक्षमा सहमति जनाइसकेको र मदुरोले देश छोड्ने गृहकारी गरिरहेको बताएको थियो । पेम्पेओको भनाइ पनि विपक्षीसँग मिल्दोजुल्दो छ ।

उनले टेलिभिजनमा भनेका छन् ‘मादुरोले मंगलबार देश छोडेर क्युवा जाने तयारी गरेका थिए । उनीहरुसँग विमान तयारी अवस्थामा थियो र उनको क्युवा उड्ने तयारी थियो । तर रुसले देशमै बस्न भनेपछि उनी गएनन् ।’

अमेरिकाले विपक्षको समर्थन गरिरहेको छ भने रुसले पनि मदुरोकै पक्षमा आफ्नो अडान कायम राखेको छ । तर, मदुरोका सेनाले सडक आन्दोलनमा रहेका प्रर्दशनकारीमाथि बख्तरबन्ध गाडी गुडाएपछि उनको प्रजातान्त्रिक बैधानिकतामा थप प्रश्न उठेको छ ।

देश भित्रका नागरिकको समर्थनमा समेत कमजोर बन्ने अवस्थामा पुगेका छन् । अव उनले सैन्यबलमै आफ्नो सत्ता टिकाउँछन् वा नागरिक आवाजको संबोधनका लागि विधि पहिचान गर्छन् उनका लागि मुख्य चुनौति अनि संकट पनि यही हुने छ ।

Leave A Reply

Your email address will not be published.