News Portal

‘नेपालको नक्सा अमान्य’: भारतीय विदेश मन्त्रालयल

काठमाडौं, ९ जेठ । भारतीय विदेश मन्त्रालयले नेपालद्वारा जारी लिम्पियाधुरासम्मको नक्सा मान्य नहुने दोहोर्‍याएको छ ।

मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले बिहीबार दिल्लीको शास्त्रीभवनमा आयोजित साप्ताहिक पत्रकार सम्मेलनमा वार्ताका लागि नेपालले सकारात्मक वातावरण बनाउनुपर्ने दोहोर्‍याएका छन् ।

‘नेपालको यो एक पक्षीय कदम भारतलाई स्वीकार्य छैन,’ प्रवक्ता श्रीवास्तवले पत्रकार सम्मेलनमा भने, ‘नेपालको नेतृत्वले विद्यमान सीमा मुद्दाहरू समाधानका लागि कूटनीतिक संवादका लागि सकारात्मक वातावरण सिर्जना गर्नेछ भन्नेमा हामी आशावादी छौं । ’ भारतीय विदेश मन्त्रालयले नेपालले नक्सा प्रकाशित गरेकोमा बुधबार पनि विरोध गरेको थियो ।

भारतले २६ वैशाखमा पिथौरागढबाट नेपालको कालापानी हुँदै लिपुभञ्ज्याङ जोड्ने ८० किलोमिटर सडकमार्ग उद्घाटन गरेपछि नेपालले परराष्ट्र मन्त्रालयमार्फत २७ वैशाखमा लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपाली भूभाग भएको भन्दै एकतर्फी सडक निर्माण अमान्य हुने स्पष्ट पारेको थियो ।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले २९ वैशाखमा भारतीय राजदूत विनयमोहन क्वात्रालाई बोलाएर नेपालका तर्फबाट कूटनीतिक नोट (विरोधपत्र) हस्तान्तरण गरे भने राजदूत क्वात्राले मन्त्री ज्ञवालीलाई भारतीय विदेश मन्त्रालयको विज्ञप्ति हस्तान्तरण गरेका थिए ।

त्यसपछि वार्ताको वातावरण बनाउनुको सट्टा भारतीय स्थल सेनाध्यक्ष मणिमुकुन्द नरवणेले नेपालको प्रतिक्रियाप्रति रोष व्यक्त गर्दै ‘कसैको उक्साहटमा नेपाल बोलेको’ आरोप लगाएका थिए ।

नेपाल सरकारले ४ जेठमा लिम्पियाधुरासम्मको जमिन समेटेर नयाँ नक्सा जारी गर्ने निर्णय गरेको थियो । यही निर्णयअनुसार बुधबार भूमि व्यवस्थामन्त्री पद्माकुमारी अर्यालले नेपालको नयाँ नक्सा सार्वजनिक गरेकी थिइन् । नयाँ पत्रिका दैनिकबाट

Leave A Reply

Your email address will not be published.