News Portal

किन यही रेलबाट यात्रा गर्छन् उत्तर कोरियाका नेता किम जोङ्ग उन ?

कयौँ दिनदेखि जारी आशंका अन्तत: प्रष्ट भएको छ । उत्तर कोरियाका नेता किम जोङ्ग उनले चीनको भ्रमण गरेको पुष्टि दुवै देशका सरकारी सञ्चारमाध्यमले गरेका छन् ।

सन् २०११ यता पहिलो पटक किमले विदेश भ्रमण गरेका हुन् । तर यस कुराको पुष्टि गर्नु भन्दा पहिले हरियो डिब्बाले सजिएको एक रेल चीनमा पुगेपछि त्यसैमा उत्तर कोरियाली सर्वोच्च नेता रहेको अनुमान गरिएको थियो ।

तर सबैभन्दा आश्चर्यको कुरा भनेको विश्वका कयौँ नेता समय बचाउन भन्दै हवाईजहाज र हेलिकोप्टरबाट यात्रा गरिरहँदा किम चाँहि किन नदीको उल्टो धारतिर बगिरहेका छन् ?

हवाई यात्रामा डर किन ?

किम जोङ्गका पिता किम जोङ्ग इल पनि हवाईजहाजमा यात्रा गर्नुपर्दा रिसाउँथे । जब उनी २००२ मा तीन साताको रुस यात्रामा गएका थिए, त्यही बेला किमलाई एक अधिकारीले यस रेलको बारेमा बताएका थिए ।

यस रेलगाडीमा विश्वकै सबैभन्दा महंगो वाइन राखिएको हुन्छ । त्यसैगरी रेल भित्र नै बारबिक्यूको पनि व्यवस्था गरिएको हुन्छ । यही रेलमा शानदार पार्टी पनि हुने गरेको थियो । किम जोङ्ग द्वितीयले यस रेलगाडीलाई १० देखि १२ पटकसम्म विदेश यात्रा गरेका थिए । जसमा अधिकांश यात्रा उनले चीनको नै गरेका थिए ।

सिनियर किम जोङ्ग लामो यात्राका लागि निस्कँदा पनि रेलमै यात्रा गर्थे । यहाँसम्म कि उनी सन् १९८४ मा यसै रेलगाडीबाट पूर्वी युरोपसम्म पुगेका थिए । संयोगवश उनको निधन पनि हृदयघातबाट रेलमै भएको थियो ।

तर यहाँ बुझ्नुपर्ने कुरा भनेको किम जोङ्ग या उनका पिता जुन रेलमा सवार भइरहेका छन्, त्यो कुनै साधारण रेल भने होइन ।

किन विशेष छ यो रेलगाडी ?

न्यूयोर्क टाइम्सका अनुसार बेइजिङमा देखिएको यस रेलगाडीमा २१ वटा डब्बा थिए, ती सबैमा हरियो रंगले सजाइएका छन् । यो रेलको झ्याल सबैमा टिन्टेड ग्लास लगाइएको छ । जसले गर्दा बाहिरबाट भित्र केही पनि देख्न सकिँदैन ।

यस रेलगाडीको बारेमा बाहिर आएका विवरण भनेका जासुसी रिपोर्ट, यस रेलमा सवार भइसकेका अधिकारीको भनाइ र सञ्चारमाध्यमको दुर्लभ कभरेजमा आधारित हुन् ।

दक्षिण कोरियाको सन् २००९ को एक समाचार अनुसार किम जोङ्गका लागि उच्च सुरक्षाका लागि उच्चसुरक्षा रहेका कम्तिमा ९० कोच तयार रहन्छन् ।

यसका अनुसार किमका पिता किम जोङ्ग-इलको भ्रमणका क्रममा कम्तिमा ३ वटा रेलसँगै जान्थे । यिनमा एक अत्याधुनिक सुरक्षायुक्त रेल, किमको रेल र तेस्रो रेलमा अतिरिक्त बडीगार्ड र खानेकुरा तथा अन्य सामान हुन्थ्यो ।

चिनियाँ पुलिसकर्मीले यो खास सवारीका लागि सडक नै रोकेका थिए । यो रेलमा किम सवार रहेको समाचार आएको थियो ।

यिनमा हरेक डब्बा बुलेटप्रुफ हुन्छन् । जुन सामान्य रेल कोचको तुलनामा कयौँ गुणा गह्रौँ हुन्छ । धेरै गह्रौँ हुने भएकाले यसको गति पनि केही कम हुन्छ । अनुमान अनुसार यस रेलको अधिकतम् गति ३७ माइल प्रतिघण्टा रहेको छ।

सन् २००९ कव रिपोर्ट अनुसार किम जोङ्ग इलको भ्रमणका क्रममा १०० सुरक्षा अधिकारी यो आधुनिक रेलमा सवार हुन्थे । उनीहरुको जिम्मेवारी भनेको स्टेशनमा जाँच पड्ताल गर्नु हुन्थ्यो । यसका अलावा मजबुत सुरक्षा मिलाउनका लागि रेल भन्दा माथि सैन्य हेलीकोप्टर र जहाज पनि उडाइन्थ्यो ।

एक अर्को रोचक कुरा भनेको उत्तर कोरियामा अलग-अलग २२ स्थानमा केबल किमको प्रयोगका लागि मात्रै रेल स्टेशन बनाइएको छ । उत्तर कोरियाको सरकारी सञ्चारमाध्यमले कहिले काहीँ रेल भित्र सवार आफ्ना सबैभन्दा ठुला नेताको तस्बिर पनि सार्वजनिक गर्दै आएका छन् ।

सन् २०१५ मा यसै रेलको एक कोचमा किम जोङ्ग उन एक लामो सफा टेबलमा बसेको फोटो सार्वजनिक भएको थियो । जुन एउटा बैठक कक्षा भन्दा ठुलो देखिन्थ्यो ।

सन् २०११ मा जारी यस्तै एक भिडियमा उनका पिता पनि किम जस्तै शैलीमा बसेर कुरा गर्दै गरेको देख्न सकिन्थ्यो । पुरानो भिडियोमा फ्ल्याट स्क्रिन टेलिभिजन देखिएको थियो भने नयाँ भिडियोमा ल्याप्टप पनि देखिएको छ ।

किम जोङ्ग उनलाई लिएर सन् २०१५ नोभेम्बरमा बेलायती पत्रिका द गार्जियनमा छापिएको रिपोर्टमा रेलभित्र पनि छुट्टै मोबाइल ट्वाइलेट रहने उल्लेख गरिएको थियो ।

डर किन रहन्छ ?

के किम आफ्नो ज्यानलाई लिएर डराउँछन् ? उत्तर कोरियामा सन् १९९७ देखि १९९ सम्म भारतको राजदूत रहेका जगजीत सिंह सपराले यसको जवाफमा भनेका थिएङ ‘डर त छ । किम मात्रै होइन उनका पूर्वज पनि सुरक्षालाई लिएर धेरै सतर्क थिए । किम जोङ्ग-उनका पिता किम जोङ्ग इल मस्को र बेइजिङ जाँदा प्लेनबाट नभइ रेलमै सवार हुन्थे ।’

सपराका अनुसार किम जोङ्ग उनका हजुरबा किम इल सुङ्गले केबल एक पटक मात्रै हवाई जहाजबाट इन्डोनेसियाको यात्रा गरेका थिए । ‘पूरा देश त एलर्ट हुन्छ नै, उत्तर कोरियाले कुनै पनि देशसँग शान्ति सम्झौता नगरेकाले आफ्नो सुरक्षालाई लिएर डराइरहन्छ । अहिले उनको देशमा कुनै कुरामा आवाज उठ्छ भने त्यो सुरक्षाका लागि मात्रै हो ।’

Leave A Reply

Your email address will not be published.