News Portal

क्षितिज नाट्य समूहको अगुवाईमा झापामा नाटक घर निर्माण हुने

बिर्तामोड। झापामा नाट्य घर निर्माण हुने भएको छ । क्षितिज नाट्य समूहको अगुवाईमा झापामा नाटक घर निर्माण हुने भएको हो ।बृहत् सांस्कृतिक संग्राहलयसहितको नाटक घर निर्माणका लागि एक दाताले तीन कठ्ठा जमिन प्रदान गर्ने घोषणा गरेसँगै झापामा नाटक घर बन्न लागेको हो । झण्डै एक करोड रुपैयाँ पर्ने जग्गा बिर्तामोड नगरपालिका–५ निवासी मनोज निरौलाले प्रदान गर्ने घोषणा गरेका हुन् ।

उनले बिर्तामोड नगरपालिका–१मा रहेको तीन कठ्ठा जमिन प्रदान गर्ने घोषणासँगै नाटक घर निर्माणका लागि सहज भएको क्षितिज नाट्य समूहका संयोजक माधव कल्पितले बताए । उनले भने– ‘हाम्रो पहिलादेखि कै सपना हो नाटक घर निर्माण गर्ने दाताले जग्गा प्रदान गर्ने घोषणासँगै सपना साकार हुने भएको छ । हामी हिउँदबाट नाटक घर निर्माणका लागि तयारी गर्र्छाैं ।
झापा जिल्लामा बसोबास गर्ने सबै जातजाति, भाषाभाषी, लिङ्ग र समुदायको अपनत्व कायम हुने गरी बृहत् सांस्कृतिक संग्राहलयसहितको नाटक घर निर्माण गर्ने हाम्रो लक्ष्य हो । ‘लक्ष्य प्राप्तिका लागि निरौलाले प्रदान गर्नुभएको जग्गा हाम्रो लागि प्रेरणाको स्रोत हो’–नाट्यकर्मी समेत रहेका कल्पित भने ।

नाट्यशाला तथा थिएटरको अभावमा कला र प्रतिभा भएर पनि व्यवसायिक कलाकार उत्पादन गर्न नसकिरहेको क्षितिज नाट्य समूहलाई जग्गा प्रदान गर्ने घोषणासँगै ऊर्जा मिलेको संस्थाका संस्थापक अध्यक्ष हरि भण्डारीले बताए । नाटक घर निर्माणसँगै झापामा नाट्यकर्मीको हब बनाइने र प्रदेश नं. १मै बिर्तामोडलाई नमूना बनाइने योजना अघि सारिएको नाट्यकर्मी गजेन्द्र पृथकको भनाइ छ ।

Leave A Reply

Your email address will not be published.