News Portal

नेदरल्यान्ड्सको चुनौती नेपाललाई ,ऐतिहासिक खेल आईसीसीमा

ऐतिहासिक खेलमा नेदरल्यान्ड्सको चुनौती नेपाललाई दबाव छैन - पारस खड्का

१६ साउन काठमाडौं । चार वर्षअघि नेपाल र नेदरल्यान्ड्स फरक-फरक अवस्थाबाट बंगलादेशमा आयोजित विश्व टी-२० खेल्न पुगेका थिए । नेपाल आईसीसीको ठूलो प्रतियोगिता पहिलोपटक खेलिरहेको थियो, जसले एउटा एसोसिएट टिमको स्तरोन्नतीलाई प्रतिबिम्बित गर्थ्यो ।

अर्कोतर्फ नेदरल्यान्ड्स ओरालो लागिरहेको अवस्थामा थियो । उनीहरुको लगातार तीनपटक विश्वकपमा सहभागी भएको सिलसिलामा ब्रेक लागेको थियो । त्यसबेला नेदरल्यान्ड्सको एकदिवसीय मान्यता पनि गुमेको थियो । फलस्वरुप आईसीसीको फन्डिङ पनि उनीहरुका लागि घटेको अवस्था थियो ।

‘हामी अगाडिको यात्राबारे विल्कुल अनिश्चयमा थियौं’ अहिले नेदरल्यान्ड्स टिमको कप्तान रहेका पिटर सिलरले क्रिकइन्फोसँग भनेका छन्, ‘हामी एक किसिमले अन्धकारमा रुमल्लिएका थियौं र भविष्यमा फेरि यो स्तरको क्रिकेट खेल्न पाउने कुरामा सशंकित थियौं ।’

टी-२० विश्वकप प्रतियोगिताको ओपनिङ राउन्डमा नेपालले खेलेका तीन खेलमध्ये दुईवटामा जित हात पार्‍यो । हङकङ र अफगानिस्तानलाई पराजित गरेको नेपालले बंगलादेशलाई पनि कडा चुनौती दियो ।

अर्कोतर्फ नेदरल्यान्ड्सले ओपनिङ राउन्डमा दुई जित हात पार्‍यो, त्यो पनि अत्यन्तै सनसनीपूर्ण तरिकाले । आयरल्यान्ड र जिम्बावेलाई पन्छाएर अर्को राउन्डमा जानका लागि उसले १४ ओभर २ बलमा १ सय ९० रन पछ्याउनुपर्ने थियो । सपना जस्तो लाग्ने प्रदर्शन गर्दै नेदरल्यान्ड्सले लक्ष्य हासिल गरेको थियो ।

यसरी दुवै देशले अगाडिका अवरोधहरुका बाबजुद क्रिकेटमा बलियो सम्भावना देखाए । नेपाली क्रिकेटमा प्रशासनिक समस्या थियो र क्रिकेट बोर्डलाई आईसीसीले निलम्बित अवस्थामा राखेको थियो ।

२०१४ को विश्व टी-२० पछि चार वर्ष कडा मिहिनेत गरेर एक दिवसीय मान्यता पाएको नेपालले आफ्नो पहिलो एकदिवसीय खेल नेदरल्यान्ड्सकाविरुद्ध मंगलबार दिउँसो नेदरल्यान्ड्सकै एमस्टलभिनको भिआरए मैदानमा खेल्दैछ । दुई खेलको सिरिजको दोस्रो खेल १८ गते हुनेछ ।

नेदरल्यान्ड्सले पनि चार वर्षपछि पहिलो एक दिवसीय खेल खेल्न लागेको हो । विश्व क्रिकेट लिग च्याम्पियनसीपको विजेताका रुपमा नेदरल्यान्ड्सको हौसला बुलन्द छ ।

नेपालले भने साहस र धैर्यका आधारमा आफ्नो यात्रा अगाडि बढाइरहेको छ । डिसेम्बरमा विश्व क्रिकेट लिग च्याम्पियनसीपबाट रेलिगेसनमा परेर डिभिजन २ मा झरेको नेपालले नामिबियामा आयोजित डिभिजन २ प्रतियोगिताका केही खेलमा मुटुको धड्कन नै रोकिने खालको जित हासिल गर्‍यो ।

यसैगरी जिम्बावेमा भएको एकदिवसीय विश्वकप छनोटमा धेरै खेल हारेर पनि ठूलो उपलब्धि कसैले पायो भने त्यो नेपाली टोली नै थियो । समूह चरणमा लगातार तीन खेल हारेर पनि नेपाल भाग्यमानी सावित भयो जसले आफ्नो क्रिकेट इतिहासमै पहिलोपटक एकदिवसीय राष्ट्रको मान्यता पायो ।

सुरुका तीन खेल हारेको नेपालले हङकङ र पपुवा न्यूगिनीविरुद्धका निर्णायक खेल जितेर एकदिवसीय मान्यता पायो । नेपाल क्रिकेट संघ -क्यान) लाई आईसीससीले निलम्बनमा राखिरहेको अवस्थामा भएको यो उपलब्धी ऐतिहासिक छ ।

‘एकदिवसीय मान्यताका कारण कम्तिमा चार वर्ष हाम्रो क्रिकेट सुरक्षित बनेको छ’ नेपालका कप्तान पारस खड्का भन्छन्, ‘विश्व क्रिकेट लिगमा प्रत्येक खेल जित्नैपर्ने दवाव हुन्थ्यो । प्रत्येक खेलसँग हाम्रो भविष्य जोडिएको हुन्थ्यो । तर, यो प्रतियोगितामा त्यस्तो दबाव छैन ।’

यदि यस श्रृंखलामा सोचेजस्तो नतिजा आएन भने पनि आफूलाई सुधार्ने मौका रहने खड्का बताउँछन् । ‘तर, हामी आफ्नो पहिलो एकदिवसीय श्रृङ्खला जितेर जान चाहन्छौं । यो ऐतिहासिक जित हुनेछ,’ उनले भने ।

मंगलबार हुने खेलमा करिब ५ सय देखि १ हजार नेपाली समर्थक उपस्थित हुने अनुमान गरिएको छ, जसले नेपाली टिमलाई निरन्तर हौसला दिनेछन् । नेपालमा कान्तिपुर टिभीले ४५ लाख रुपैयाँ तिरेर खेलको प्रत्यक्ष प्रशारण गर्ने अधिकार लिएको छ । यसैले नेपालमै पनि लाखौँ समर्थक ऐतिहासिक खेलमा रमाउने छन् ।

दुई खेलको श्रृङ्खलामा नेदरल्यान्ड्सलाई बलियो मान्न सकिन्छ । एकदिवसीय वरियताक्रममा १३ नम्बरमा रहेको नेदरल्यान्ड्सलाई नेपालले चुनौती दिन नसक्ने भने होइन ।

१९९६ देखि अन्तर्राष्ट्रिय क्रिकेटमा गएको नेपाल र १९९६ मा नै एकदिवसीय विश्वकप खेलिसकेको नेदरल्यान्ड्सबीच अहिले उति धेरै अन्तर देखिँदैन । नेदरल्यान्ड्सले अहिलेसम्म ७९ वटा एकदिवसीय खेल खेलिसकेको छ ।

विश्व क्रिकेट लिग च्याम्पियनसिपमा पनि नेदरल्यान्ड्सले भोगेका दुई मात्र हारमध्ये एक नेपालविरुद्ध थियो । ‘हामीले यहाँ अन्तिम पटक खेलेको ५० ओभरको खेलमा उनीहरुलाई हराएका थियौं,’ खड्का सम्झिन्छन् ।

उक्त खेलमामा कप्तान खड्काले ८४ रनको योगदान दिएका थिए र नेपालले नेदरल्यान्ड्सलाई १९ रनले हराएको थियो । ‘हामी फेरि त्यही प्रदर्शन दोहोर्‍याउन चाहन्छौं,’ खड्काले भने ।

आईसीसीले कप्तान खड्कासँगै लेग स्पीनर सन्दीप लामिछानेलाई नेदरल्यान्ड्सविरुद्धको खेलमा महत्वपूर्ण रहेको उल्लेख गरेको छ ।उत्कृष्ट र ब्याट्सम्यान र कप्तानका रुपमा खड्काले एसोसिएट क्रिकेटमा आफूलाई अब्बल सावित गरेका छन् भने लामिछाने नेपालका पछिल्ला प्रतियोगितामा सँगै टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा छाइरहेका छन् ।

साथै शक्ति गौचन, बसन्त रेग्मी, सोमपाल कामी, शरद भेषावकर, ज्ञानेन्द्र मल्ल लामो समयदेखि राष्ट्रिय टिममा रहेकाले नेपालको पहिलो एकदिवसीय खेलका हरेक क्षण थप उत्साहपूर्ण हुनेछ ।

प्रमुख खेलाडी

विस्ले वारेसी – नेदरल्यान्ड्स

वारेसीले नेपालविरुद्ध लर्ड्समा भएको टी-ट्वान्टीमा पनि उत्कृष्ट खेल देखाएका थिए । वर्षाले प्रभावित भएको खेलमा १६ ओभर ४ बलमा ४ विकेट जाँदा नेदरल्यान्ड्सले १ सय ७४ रन बनाएको थियो ।

जसमा ४४ रन उनै वारेसीले बनाएका थिए । उनी अनुभवी खेलाडी हुन्, जो परेको बेला सम्हालिएर अघि बढ्न सक्छन् । उनले २८ एकदिवसीय खेल खेलिसकेका छन् ।

सन्दीप लामिछाने – नेपाल

१७ वर्षका नेपाली लेग स्पीनरको खेलमा नेपालको योजना उत्कृष्ट हुन सक्छ । उनको खेल कमजोर पर्न जाँदा योजना भताभुंग हुन सक्ने डर पनि उति नै छ । यस्तोमा नेपालका नेदरल्यान्ड्सका अनुभवि ब्याट्सम्यानलाई निराश पार्ने प्रमुख जिम्मा उनैको हुनेछ ।

टिम

नेदरल्यान्ड्स – पिटर सिलर, वेस्ले बारेसी, डान टेर ब्राक, बेन कुपर, स्कट एडवाड्स, फेडेरिक क्लासेन, बस डि लिडे, पोउल भ्यान मेकेरेन, स्टेफेन माइबर्ग, म्याक्स ओडोड, हिडे ओभरजिक, शेन स्यान्टर र मिचेल रिप्पोन ।

नेपाल – पारस खड्का, आरिफ शेख, दिपेन्द्र ऐरी, ललित भण्डारी, शक्ति गौचन, करण केसी, सुवास खकुरेल, सन्दीप लामिछाने, ज्ञानेन्द्र मल्ल, रोहितकुमार पौडेल, ललित राजवंशी, बसन्त रेग्मी, अनिल साह, सोमपाल कामी र शरद भेषावकर ।

आईसीसी र क्रिकइन्फोको सहयोगमा

Leave A Reply

Your email address will not be published.