News Portal

यस्ताे भयावह बन्दैछ मानसिक समस्या :कसरी बच्ने,यसकाे लक्षण के हो ?

महालक्ष्मी सिलवाल।

जीवन विचित्रको यात्रा हो । यहाँ सोचेजस्तो र चाहेजस्तो सबैलाई सधँै पुग्दैन । तब कतिपय मानिसमा सकारात्मक भावना, जीवनप्रतिको नयाँ सम्भावना र खुसीका छालहरू निराशा, दिक्दारी, हतोत्साह, र छटपटीमा परिणत हुन थाल्छ । जीवन बेकार, निरस र बोझिल लाग्न थाल्छ ।
चाहेर पनि अन्तरआत्मादेखि रमाउन र रमाइलो माहोल सिर्जना गर्न सकिँदैन । आफूभित्रको सृजनशीलताको पालुवा विस्तारै ओइलाउँदै जान्छन् । हरेक कुरामा खुसीको भन्दा पीडाको अनुभूति हुन्छ, । जीवनप्रति नै घृणा र वितृष्णा छाउन थाल्छ । अरूको सफलतामा प्रोत्साहन, हौसला र बधाई दिन नसकेर रिस, ईष्र्या, प्रतिशोध र तिरस्कारको दृष्टिले हेर्न मन लाग्न थाल्छ भने यी डिप्रेसनका लक्षण हुन सक्छन् ।

हुन त मावव जीवन नै यस्तै हो । कहिले उकालो, कहिले ओरालो कहिले हाँसो त कहिले रोदन । यी सबै जीवनरूपी डुंगा तर्ने बहाना नै हुन् । हामीलाई कहिलेकाहीँ मात्र कुनै कारणले वा कारण बिना नै दुःख लाग्छ, दिक्क लाग्छ, रुन मात्र मन लाग्छ , कसैसँग बोल्न मन लाग्दैन ।

केही समयपछि ती सबै कुराहरू एकाएक हटेर सकारात्मक भाव र खुसीका लहरहरू उर्लिन्छन् र हामी पहिलेकै अवस्था र्फकन्छाँै भने यसलाई सामान्य रूपमा नै लिन सकिन्छ । तर निरन्तर दिक्दारी, गलत विचार, नकारात्मक धारणा, हत्तोसाह, दुःख, जीवनप्रतिको आशा, अरू मानिसप्रतिको सद्भाव र हरेक कुराबाट टाढा हुन मन लाग्छ भने हामीले बुझ्नुपर्छ कि हाम्रो मानसिक स्वाथ्य ओरालो लाग्दै छ । हामी बिस्तारै डिप्रेसनको दलदलमा भासिँदै छौं।

डिप्रेसन

डिप्रेसन एउटा त्यस्तो रोग हो । जसका कारण मानिस कहिले अरूलाई हानि त कहिले स्वयं आफैलाई नोक्सान हुने वा जोखिमपूर्ण काम समेत गर्न पछि पर्दैनन् । कतिले आत्महत्या गर्ने तथा विभिन्न सामाजिक, पारिवारिक, नैतिक, भौतिक आपराधिक क्रियाकलापमा समेत गर्नसक्छन् ।

हुन त डिप्रेसनको सिकार भएको व्यक्ति पनि सामान्य मान्छेजस्तै नै देखिन्छ, तर उसले गर्ने क्रियाकलापको शैली कतिखेर परिवर्तन हुन्छ भन्न सकिन्न । उसको स्वभाव छिटो-छिटो बदलिन्छ । कहिले हाँसिरहने , कहिले रोइरहने त कहिले गम्भीर हुने त कहिले धेरै बोल्ने त कहिल्यै बोल्दै नबोल्ने हुन्छ । मानसिक रोगको अवस्था र प्रक्रिया अनुसार स्वभावमा परिवर्तन आउँछ ।

अचानक रिसाउनु, एक्लै बर्बराउनु, मनमा कुरा खेलाइरहनु, ससाना कुरामा पनि सम्झौता गर्न नसक्ने हुन्छन् । आर्थिक कमजोरी, सामाजिक प्रतिष्ठामा ह्रास, पारिवारिक झैझगडा, कलह, कोलाहल, काममा असफलता, प्रेममा धोका, दीर्घरोग, सम्बन्ध विच्छेद, आफन्त र साथीभाइले धोका दिदा, अति पि्रय व्यक्तिको मृत्यु हुँदा, बुढेसकालको सही सदुपयोग गर्न नसकेर हुने एक्लो अनुभवजस्ता कुराले डिप्रेसन हुनसक्छ ।

कहिलेकाहीँ लागु पदार्थको दुव्र्यसन, विभिन्न औषधीको साइड इफेक्ट, अनियमित दिनचर्या एवं आहारविहारमा तालमेल नहुँदा समेत पनि मानिसहरू डिप्रेसनको दलदलमा पर्छन् । साथै महिला दिदीबहिनीहरू विभिन्न हर्मोनको गडबडी, रजस्वला, गर्भवतीको समयमा, सुत्केरी र त्यसको पीडा सहन नसक्दा र त्यो अवस्थामा सही काउन्सिल नहुँदा समेत डिप्रेसनको सिकार हुन सक्छन् ।

नेपालमा ५० देखि ६० लाख भन्दा बढी मानिसमा कुनै न कुनै रूपमा मानसिक स्वास्थ्यबाट पीडित छन् । यस अनुसार ४ जनामा करिब एक जना व्यक्ति यसको दलदलमा रहेको तथ्य प्रकाशनमा आइसकेको छ । नेपाल प्रहरीको तथ्यांक अनुसार आर्थिक वर्ष २०७३ र ७४ मा ५ हजार १ सय २५ जना मानसिक चिन्ता र तनावले गर्दा नै आत्महत्या गरेका छन् ।

विश्व स्वाथ्य संगठनका अनुसार प्रत्येक वर्ष विश्वमा ३० करोडभन्दा बढी मानिसहरू मानसिक रोगी हुने गर्छन् । त्यसमा पुरुषको तुलनामा महिलाको संख्या बढी छ । मानसिक रोगको कारणले आत्महत्या गर्नेहरू पनि छन् । प्रत्येक वर्ष ८० लाख मानिसले आत्महत्या गर्ने पनि स्वाथ्य संगठनको तथ्यले देखाउँछ । संसारका हरेक स्थानमा सामाजिक, आर्थिक, राजनीतिक वातावरण, रहनसहन, साथीभाइबीचको आपसी सम्बन्धमा आउने उतारचढाव एवं हार्दिकता, सुमधुरता, विश्वास र आत्मसंयमको कमीले पनि मानसिक रोगी बढेको देखिन्छ ।

डिप्रेसनका लक्षण

कतिपय मानिसहरू समाजमा अरू मानिसको दृष्टिकोण कस्तो हुने हो भन्ने डरले मानसिक रोग लागेको छ कि भनेर जँचाउन पनि हच्किन्छन्, भने कतिपयलाई आफू डिप्रेसनको सिकार भएको थाहा नहुन पनि सक्छ । किनभने डिप्रेसनले बिस्तारै मानसिक स्वास्थ्य बिगार्छ तर एक्कासि पागल भने बनाउँदैन । डिप्रेसनले केटाकेटीदेखि वृद्धवृद्धा ताथ युवा वर्गलाई समेत छोड्दैन ।

डिप्रेसनका कारण चिडचिडाहट हुने, शरीर बिस्तारै दुब्लाउँदै जाने हुन्छ । कतिपय भने मोटाउने पनि गर्छन् । कोही यस्तो अवस्थामा बढी खाने गर्छन् भने कोही खाना खानै छोड्ने हुन्छन् । कसैलाई निद्रा नलाग्ने हुन्छ भने कोही बढी सुत्ने गर्छन् ।

मानसिक स्वास्थ्यको गडबडीले पाचन शक्तिमा समेत असन्तुलन भई कब्जियत वा पाचन सम्बन्धी समस्या देखा पर्दछ । स्मरण शक्ति कम हुनथाल्छ । टाउको दुख्नु, घाँटी दुख्नु, जस्तो अरू धेरै समस्या पनि देखिन्छ । डिप्रेसन भएपछि कुनै कुराप्रति चाह खासै हुँदैन । आफ्नो काम, कर्तव्यबाट पनि टाढा हुन मन लाग्छ । शारीरिक सम्बन्धप्रति वितृष्णा लाग्न सक्छ । यसले डिप्रेसन अझ बढाउनसक्छ । एकाग्रताको कमीका साथै निराशा र उदासिनता बढ्छ । अरूको प्रशंसाभन्दा आलोचना, माया प्रेमको बदलामा घृणा र कुभलो सोच्न मन लाग्नुका साथै सामान्य गल्ती गरे पनि भयानक अपराध गरेको आभास हुने गर्छ । साथै त्यत्तिकै रुने, आफ्नो जीवन एक्लो र अर्थहीन भएको बोध गर्छन् ।

डिप्रेसनको निवारण

जब आफू डिप्रेसनको सिकार भएको थाहा हुन्छ । त्यसपछि त्यसको समाधानका उपायहरू खोज्नुपर्छ । भनिन्छ जहाँ समस्या त्यहाँ समाधान ।

यस विषयमा एउटा प्रसंग छ – तपस्वी गौतम बृद्ध भएको ठाउँमा कृषा गौतमी आफ्नो छोराको मृत शरीर लिएर रुँदै, कराउदै र विलाप गर्दै पुग्छिन् । उनी बुद्धसित आफ्नो छोरालाई जसरी भए पनि बचाइदिन याचना गर्छिन् ।

बुद्ध भन्छन् -‘हुन्छ, तर मेरो एउटा सर्त छ । गौतमी, तिमीले कुनै पनि परिवारको सदस्यको मृत्यु नभएको घरबाट एक मुठी मात्र तोरी ल्याउन सक्यौ भने म तिम्रो छोरालाई अवश्य जीवित बनाउन सक्छु ।’ गौतमी छोरो बचाउने आशामा सबै गाउँघर पुगिन्् । तर कहीँ पनि त्यस्तो एउटै घर पाउन सकिनन् । जहाँ मान्छे मरेको नहोस् । त्यसपछि उनलाई आत्मबोध भयो । हरेक घरमा मानिस मर्दा रहेछन् । मृत्यु जन्मसँगै ल्याएको सत्यता र प्रकृतिको धु्रवसत्य नियम नै रहेछ । यस्तो बोध भएपछि आफ्ना सबै कथा, व्यथा बिर्सेर गौतमीले आध्यात्मिक यात्रा शुरु गरेकी थिइन् ।

त्यसैले कसैको मृत्यु जन्मसँगै पाएको उपहारको रूपमा स्वीकार गर्ने हो भने डिप्रेसनबाट टाढा रहन सकिन्छ । त्यसैगरी असफलता नै सफलताको कसी मान्दै कर्ममा तल्लीन हुने हो पनि मानसिक रोगी हुनु पर्दैन । सधैँ देखे जति, चाहे जति, मागे जति र सोचे कसैलाई पनि कहिले सम्भव छैन भन्ने सत्यलाई सहज बुझनुपर्छ । जीवनमा कुनै कुराप्रति वितृष्णा छ भनेे त्यसबाट टाढा रहने वा त्याग गर्ने, त्याग गर्न सम्भव नभए त्यसलाई सुधार गर्ने, त्यसो गर्न पनि असम्भव भए त्यो कुराप्रति आफ्नो हेराइ सकारात्मक बनाउने ।

कसैलाई आफ्नो दाँत मन पर्दैन, कसैलाई नाक, कसैलाई अनुहारको रंग वा कसैलाई आँखा । तर त्यसलाई सधैँका लागि त्याग्न सकिँदैन । त्यसबाट पछुताउनुभन्दा त्यसलाई सुधार गर्न सक्ने उपायहरू खोजी गर्नु बुद्धिमानी हुन्छ ।

त्यसैगरी आफ्नो प्रेमीप्रमिकाले धोका दियो भने दुखी भएर बस्नुभन्दा पाउनु मात्र माया होइन । गुमाउनु पनि माया हो भनेर पछि आउने सम्बन्धप्रति हार्दिकता व्यक्त गर्नुपर्छ । जे हुन्छ, भलाइका लागि हुन्छ भन्ने सकारात्मक भाव जगाउनुपर्छ ।

डिप्रेसन एउटा गम्भीर मानसिक स्वास्थ समस्या भएकाले बेलैमा उपचार वा समाधान गर्नु पर्छ । सकारात्मक भावले मनमष्तिकलाई धुनु पर्छ । यस्तो समस्या लुकाउनुभन्दा विश्वासिलो मान्छेलाई भन्नुपर्छ । समयले भ्याएसम्म योग, ध्यान, व्यायाम र सत्संग गर्नुपर्छ । सकेसम्म कुरा नखेलाउने, एक्लै नबस्ने, साथीभाइ र परिवारसँग रमाउने कोसिस गर्ने, आहार विहार प्राकृतिक तथा सात्विक बनाउने, विगतका कर्मबाट पश्चात्ताप हुन्छ भने त्यसबाट टाढा रहेर वर्तमानमा सुधार गर्ने, औषधीबाट हुने नकारात्मक प्रभावबाट सुरक्षित रहनेजस्ता विकल्प खोज्नुपर्छ ।

जस्तोसुकै विकट परिस्थितिमा पनि म यसबाट चाँडै पार लाग्छु । पार लाग्दै छ । समस्या जसरी आयो त्यसरी नै जान्छ । विगत जे भए पनि मेरो वर्तमान सुन्दर बनाउँछु, भविष्य आफै राम्रो हुन्छ भन्ने भावना जागृत गर्नुपर्छ । सधैं बिहान, दिउँसो र बेलुका प्रत्येक पल आशाको दियो बाल्ने गर्नुपर्छ । विचारलाई सधैं सकारात्मक र्ऊजा दिन सफलता, खुशी, शान्तिजस्ता कुराको कल्पना गर्नुपर्छ । आफन्त, घरपरिवार र साथीभाइलाई सम्मान, प्रोत्साहन र मायाले प्रेरित गर्ने बानी बसाल्नुपर्छ ।

अरूले आफूलाई के दिए भन्ने हिसाबकिताबमा समय बर्वाद गर्नुभन्दा अरूले मबाट के पाए भन्ने कुरालाई महत्व दिनुपर्छ । साथै जीवनमा घट्ने हरेक घटनाको दोषी अरू कोही नभएर आफंै हो भन्दै आफ्नो कमजोरी सुधार गर्दै मन, वचन र कर्मले शुद्ध, बुद्ध बनेर आधुनिकताको बीचमा प्राकृतिक एवं आध्यामिक जीवनलाई सन्तुलित बनाउन ध्यान, योग, गीतसंगीतमा मग्न हुने अभ्यास गर्नु बुद्धिमानी हुन्छ । जसले शुद्ध मन, पवित्र मानसिकता र स्वस्थ शरीरको विकास हुन्छ र डिप्रेसनजस्ता सबै मानसिक रोगबाट टाढा रहन सकिन्छ ।

Leave A Reply

Your email address will not be published.