News Portal

सलमान र कट्रिनाको फेरि रोमान्स,‘भारत’कट्रिनाको हातमा

प्रियंका बाहिरिन ‘भारत’बाट

काठमाडौं : अहिले कट्रिना कैफलाई बलिउडमा ‘लक’ लागेको छ। एकपछि अर्को गर्दै उनले ठूला प्रोजेक्ट पाइरहेकी छन्। सबभन्दा महत्वपूर्ण कुरा उनले सलमान खानको साथ पाएकी छन्। सन् २०१९ मा रिलिज हुने सलमानको महत्वकांक्षी चलचित्र ‘भारत’ अन्ततः कट्रिनको हातमा परेको छ।

चलचित्र घोषणा हुँदा सलमानका साथमा पूर्वविश्व सुन्दरी एवं बलिउड अभिनेत्री प्रियंका चोपराले अभिनय गर्ने तय भएको थियो। यस चलचित्रका लागि प्रियंकाले आठ करोड भारु पारिश्रमिक लिएको प्रसंगले निकै चर्चा पाएको थियो। तर अमेरिकी गायक निक जोनससँग प्रेमसम्बन्धमा रहेकी प्रियंका विवाह गर्ने तयारीमा जुटेकाले सो चलचित्र छाडेकी हुन्।

चलचित्र युनिटसँग सल्लाह र सहमतीमा समयमै खवर गरेर प्रियंकाले चलचित्र छाडेकाले छायांकनको सेड्युलमा भने फरक परेन। चलचित्र निर्देशक अलि अब्बास जफरले प्रियंकालाई वैवाहिक जीवनको शुभकामनासहित आफ्नो नयाँ चलचित्रमा नरहेको केही दिनअघि ट्विटमार्फत सार्वजनिक गरेका थिए।
त्यसपछि नयाँ नायिकाको खोजी गर्ने क्रममा बलिउडमा अहिलेकी उम्दा नायिका कट्रिना छनोटमा परेकी हुन्। छायांकनका लागि कट्रिनाले समय दिन सक्ने भएपछि उनले चलचित्र भारतमा सलमानसँग रोमान्स गर्ने पक्का भएको हो। स्रोतका अनुसार प्रियंका बाहिरिएपछि सलमानले नै कट्रिनालाई लिन सुझाएका हुन्।

केही महिनाअघि रिलिज भएको सलमान र कट्रिना अभिनित ‘टाइगर जिन्दा है’ले बलिउड बक्स अफिसमा तहल्का मच्चाएको थियो। बलिउडका तीन खान सलमान, साहरुख र आमिरसँग काम गर्न हरेक नायिका लालायित हुन्छन। संयोग नै भनौं कट्रिना अहिले तिनै खानसँग एकसाथ काम गरिरहेका छन्। सलमान र कट्रिनाबीच अनेक उत्तरचढावपछि अहिले राम्रो मित्रता छ। कट्रिनाको खस्कँदो क्रेजले सलमानकै कारण उचाई लिएको हो। कुनै समय उनीहरुको प्रेमसम्बन्ध बलिउडमा सर्वाधिक रुचाएको थियो।

सलमानलाई छाडेर रणवीर कपुरसँग लागेपछि धेरैले कट्रिनाको करियर ‘सकिएको’ विश्लेषण गरेका थिए। रणवीरसँग रहुँञ्जेल उनलाई त्यस्तै भयो। ठूला प्रोजेक्टका चलचित्र उनको हातमा खासै थिएन। रणवीरसँगको सम्बन्ध पनि उत्तरचढावमै बित्यो। त्यसताका कट्रिना डिप्रेसनको सिकार भएको चर्चा चल्यो। तर संयोग भनौं वा कट्रिनाको भाग्य, उनीहरुको सम्बन्ध लामो समय रहन सकेन।

रणवीरसँग छुटेपछि एक्ली बनेकी उनको करियर धरापमा थियो । तर उनले पुन सलमानको साथ पाइन्। सलमानको साथ पाएयता उनले पछाडी फर्केर हेर्नु परेको छैन। यतिसम्मकी अहिले उनी बलिउडमा नम्बर वान नायिकाको दौडमा निकै अगाडी छन्। एजेन्सी

Leave A Reply

Your email address will not be published.