News Portal

कतार सरकारले माग्यो नेपाली सुरक्षा गार्ड,कतारमा हुने विश्वकपको सुरक्षाका लागि

कतार सरकारले सन् २०२२ मा कतारमा हुने विश्वकपको सुरक्षाका लागि  नेपाली सुरक्षा गार्ड लैजान संकेत दिएकाे छ। नेपालका लागि कतारका राजदूत युसुफ बिन मोहम्मदले सन् २०२२ मा कतारले आयोजना गर्ने विश्वकपमा सुरक्षा गार्डका लागि नेपाली आवश्यक रहेको बताएका हुन्। उनले कतार सरकारले नेपाल सरकारसँग सम्झौता गरेर सुरक्षा गार्ड लैजान तयार रहेको औपचारिक जानकारी नेपाल सरकारलाई गराएका हुन्।


गृहमन्त्री रामबहादुर थापा ‘बादल’सँग मंगलबार मन्त्रालयमा भएको भेटमा राजदूत मोहम्मदले सुरक्षा गार्डको आवश्यकताका विषयमा छलफल गरेका हुन्। उनले यसैवर्ष कतार नेपाल सम्बन्धको ४० वर्ष पुरा भएको अवसरमा मन्त्री थापालाई कतार भ्रमणको निम्तो समेत दिए।

गृहमन्त्री थापाका प्रेस संयोजक किरण भट्टराईका अनुसार कतार नेपालसँग सुरक्षाका क्षेत्रमा सहकार्यका लागि इच्छुक रहेको छ। उनका अनुसार भेटमा नेपाल–कतार द्विपक्षीय सम्बन्ध, आपसी हित र सहकार्यका विषयमा छलफल भएको थियो।

गृहमन्त्री थापाले कतारमा कार्यरत नेपालीहरुको सेवा, सुविधा तथा सुरक्षाका विषयमा राजदूत मोहम्मदसँग छलफल गरेका थिए। कतारमा हाल पाँच लाख बढी नेपाली रोजगारीका लागि पुगेका छन्।

Leave A Reply

Your email address will not be published.