News Portal

विश्वमै उदाहरणीय बनिन क्रोएसियाकी राष्ट्रपति :विश्वकपमा हारेका आफ्ना खेलाडीसंगै मैदानमा रुदै (फोटो फिचर)

अाइतबार सम्पन्न विश्वकप फुटबलको फाइनल खेलपछि विश्वभरका मिडियामा धेरै चर्चा भएको एउटा पात्र हुन् किटारोविच ।क्रोएसियाकी राष्ट्रपति कोलिन्डा ग्राबार–किटारोविचपछिल्लो समय क्रोएसिया फाइनलमा पुगेर जसरी विश्वमा चर्चित बन्यो । त्यसैगरि विश्वमै उनी छाएकी छन् ।

मस्कोमा भएको फ्रान्स र क्रोएसियाबिचको फाइनल खेल हेर्नका लागि फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोन र किटारोविच पुगेका थिए । यस्तै आयोजक रुसका राष्ट्रपति भ्लादिमिर पुटिन पनि ।म्याक्रोन, पुटिन र किटारोविचलेसँगै बसेर खेल हेरे । म्याक्रोन औपचारिक पोशाकमा थिए भने विश्वकपको फाइनलमा पुगेर इतिहास बनाएको क्रोएसियाली राष्ट्रपति किटारोविच जर्सी लगाएर पुगेकी थिइन् । उनले टिमको हौसला बढाइन् ।


खेल सकियो, जित्यो फ्रान्सले । म्याक्रोनको अनुहारमा खुशीको सञ्चार भयो । किटारोविचलाई नमिठो पक्कै लाग्यो तर उनले फ्रान्सको खुशीमा आफ्नो खुशी मिलाइन् । अनि खेलाडीले देशका लागि फाइनलसम्म पुगेर दिलाएको ऐतिहासिक उपलब्धीको सम्मान पनि ।

मैदानमा क्रोएसियाली खेलाडी निराश थिए । अवार्ड वितरण समारोहको पर्खाई उनीहरुका लागि अप्ठ्यारो भइरहेको थियो सायद किटारोविचलाई थाहा थियो, खेलाडीको उर्जा फेरि सञ्चार गर्नु पर्छ भन्ने र उनलाई कुटनीतिक सम्बन्धको पनि ख्याल थियो ।अवार्ड वितरण समारोहका लागि फिफाका अध्यक्ष जियानी इन्फान्टिनोसहित रुसी राष्ट्रपति पुटिन, फ्रान्सेली राष्ट्रपति म्याक्रोन र क्रोएसियाली राष्ट्रपति किटारोविच मैदानमा आए ।


त्यसबेला पनि किटारोविचले आफ्नो सौहार्दता प्रस्तुत गरिन्, म्याक्रोनको हात समातेर उनी अघि बढिन् । अवार्ड वितरण सुरु भयो । फ्रान्सका केलियन एमबाप्पेले फिफा युवा खेलाडी अवार्ड पाए । क्रोएसिया फाइनलमा पराजित हुनुमा उनको गोल पनि कारक थियो, तर किटारोविचले एमबाप्पेलाई सन्तान जसरी नै माया गरिन्, अँगालो हालिन् ।


त्यसपछि पालो आयो आफ्नै खेलाडी, जो निराश थिए हारले । लुका मोड्रिक प्रतियोगिताको उत्कृष्ट खेलाडीले पाउने गोल्डेन बल अवार्ड लिन अघि बढे । अवार्ड पाएको खुशी भन्दा विश्वकप जित्न नसकेको पीडा लुकाको अनुहारमा धेरै थियो ।

फिफाका अध्यक्ष, फ्रान्स तथा रुसका राष्ट्रपति हुँदै उनी आफ्नो देशकी राष्ट्रपति किटारोविचसम्म पुगे । पानी परिरहेको थियो, किटारोविचले लुकालाई धेरैबेर अँगालो हालिन् । गाला थमथमम्याइन्, सायद लुकाको झर्दै गरेको आँसु पुछिन् ।

जसरी एक आमाले सन्तानको पीडालाई आफ्नै जसरी महसुस गर्छन्, त्यसैगरी उनले लुकालाई सम्हालिन बाटो देखाइन् । किटारोविचबाट छुट्टिँदा लुकाको अनुहारमा हारको पीडा भन्दा रुसमा आफूहरुले प्राप्त गरेको ऐतिहासिक सफलता झल्किएको थियो ।

जर्सीमा रहेकी किटारोविचले क्रोएसियाका सबै खेलाडीलाई उसैगरी माया गरिन् । अँगालो हालिन्, सान्त्वना दिइन् र प्राप्त गरेको सफलताका लागि बधाई पनि । उनले फ्रान्सेली खेलाडीलाई पनि उसैगरी स्नेह देखाइन् ।

सायद उनमा त्यो बेला राष्ट्रपति भन्दा पनि ‘आमा’ को रुप बाँचेको हुनु पर्छ, उनले आमा जस्तै माया गरिन् । आँचल फराकिलो हुन्छ र त आमामा सबै समेटिन्छन् । अटाउँछन् सबै पीडाहरु । अनि बन्छ अप्ठ्यारोबाट बाहिर निस्कने बाटो पनि ।

Leave A Reply

Your email address will not be published.