News Portal

योजना, अनुशासन र निरन्तरता : चिनियाँ विकासको आधार

बेइजिङ :  चीनको समृद्धिका लागि चिनियाँ कम्युनिस्ट पार्टी त्यहाँको सरकार र सरकार मातहतका प्रशासनिक एकाइमा देखिने अनुशासनलाई प्रमुख रूपमा लिन सकिन्छ। यहाँका जनताले आफूले चुनेका जनप्रतिनिधिप्रति देखाउने अटल विश्वास र जनप्रतिनिधिको जनताको समस्या समाधानका लागि देखिने कर्तव्यनिष्ठता समृद्ध चीनको विकासको मार्गरेखा हो।

  • चीनको दक्षिणपश्चिम गञ्जाओ पान्तमा भीरको चट्टानमा बनेको संग्राहलय । तस्बिर : चाइना न्यूज डटकम

चीनको विकास हेर्दा चीनबारे नेपालमा सुनिने चिनियाँ शासनप्रणालीप्रतिको बुझाइमा व्यापक भिन्नता पाइन्छ। अधिकांश नेपालीमा के बुझाइ छ भने चीनमा अझै पनि चरम गरिबी छ। चीनको गरिबी नेपालजस्तो अल्पविकसित मुलुकको समस्यासँग तुलना गर्न सकिने खालको गरिबी होइन।

यो त एक विकसित मुलुकमा रहेका छिटफुट गाउँ तथा समुदायको पछौटेपन मात्र हो। चीनका राष्ट्रपति सी चिनफिङले तीसवर्षे लामो कार्ययोजना प्रस्तुत गर्दै चिनियाँ कम्युनिस्ट पार्टीको विधानमा आफ्नो नयाँ विचारधारासमेत प्रवेश गराएका छन्। खासगरी सी नेतृत्वमा आएपछि आर्थिक र विदेश नीतिमा आमूल परिवर्तन भएको छ।

चीनको विकासमा योजनाबद्ध कार्यक्रमको निरन्तरता प्रमुख आधार रहेको चिनियाँ कम्युनिस्ट पार्टीका केन्द्रीय समितिअन्तर्गतको अन्तर्राष्ट्रिय विभागका उपमहानिर्देशक मा सुएसोङले भने, ‘तङ स्याओ फिङको रक्षात्मक विदेश नीतिलाई आक्रामक वा सक्रिय विदेश नीतिमा परिवर्तन गरी अन्तर्राष्ट्रिय क्षेत्रमा चीनको भूमिका सशक्त भएको हो।’ राष्ट्रपति सीले ग्रेट पावरको परिभाषा बदल्दै र नयाँ अवधारणा अघि सार्दै आफ्ना सुधारवादी अग्रज च्याङ चमिन र हु चिन्ताओले अवलम्बन गरेको विदेश नीतिमा व्यापक फेरबदल ल्याएका छन्।

वर्तमान राष्ट्रपतिको आगमनसम्म युरोपेली मुलुक लगायतका पश्चिमा शक्तिराष्ट्रहरू आर्थिक रूपमा पहिलेभन्दा कमजोर बने। यसका कारण उनीहरूलाई सीले आफ्नो विदेशी नीतिको केन्द्रमा नराखेको देखिन्छ। माले भने, ‘सामान्यतया विश्वव्यापी प्रचलनमा रहेको परिभाषाले समाजवाद भनेको उत्पादनका साधनमा समाजको नियन्त्रण हुने राजनीतिक व्यवस्था बुझाउँछ। चीनमा माओत्सेतुङले गरेको सांस्कृतिक क्रान्तिले राज्य केन्द्रित अर्थतन्त्रलाई अँगाल्नुभएको थियो।’

विश्वव्यापीरूपमा समाजवादी आन्दोलन कमजोर भइरहेको अवस्थामा चीनले खुलाबजारलाई अवलम्बन गरेको हो। पुँजीवादका निजी स्वामित्वका विशेषता समावेश गरेर प्रतिस्पर्धी बजारलाई स्थान दिएका कारण चीनले अहिलेको अवस्थामा विश्व अर्थतन्त्रमा बलियो उपस्थिति देखाउन सफल भएको चिनियाँ अर्थविद्हरूको बुझाइ छ। अमेरिकासँग कूटनीतिक तहमा सम्बन्ध राख्दै आएको चीनले राष्ट्रपति सीको सत्तागमनसँगै दुई देशका नेतृत्वबीच प्रत्यक्ष संवादको पहल भयो।

तत्कालीन अमेरिकी राष्ट्रपति बाराक ओबामा र वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पसँग वार्तामार्फत दुई देशबीचको दूरी कम गर्दै आफ्नो विदेश नीतिलाई थप सन्तुलित पारेको पाइन्छ। सीको नेतृत्वमा भएको उन्नाइसौँ महाधिवेशनले चीनले शक्तिराष्ट्रसँगको प्रतिस्पर्धामा सन्तुलित विदेश नीतिका साथ अघि बढ्ने नीतिको अवलम्बन गरेको छ।

सीले प्रतिपादन गरेको नयाँ ग्रेट पावर नीतिअन्तर्गत पारस्परिक विश्वास, शान्ति र सवैको जित भन्नेजस्ता अवधारणा पर्छन्। सीले परम्परावादी पश्चिमा शक्तिकेन्द्रको अवधारणा परिवर्तन गर्दै अब नयाँ उदीयमान शक्ति राष्ट्रको संगठन ब्रिक्स (ब्राजिल, भारत, रूस, दक्षिण अफ्रिका, चीन) लाई केन्द्रमा राख्ने प्रयास गरेका छन्। विश्व बजारमा अमेरिकी डलरको एकाधिकार तोड्न र एसियाकेन्द्रित अर्थतन्त्र विकासको बाटो सीले लिएको आर्थिक कूटनीतिको सबल पक्ष हो।

राष्ट्रपति सीले ‘वन रोड वन वेल्ट’ नीतिअन्तर्गत चीनले एसिया, युरोप र अफ्रिकालाई जल र जमिनको बाटो विश्वमा आफ्नो प्रभाव जोड्ने योजना ल्याएको बुझ्न सकिन्छ। मध्य एसिया, युरोप र अफ्रिकालाई जोड्न सडकको पूर्वाधार र जलमार्ग निर्माण गर्ने हेतुले चीनले वन बेल्ट वन रोडको काम सुरु गरिसकेको छ। यसले चीनको समृद्धिको सुनिश्चितता गर्ने विश्वास उपमहानिर्देशक माको रहेको छ। यसबाट विश्वको आर्थिक, राजनीतिक र सामरिक शक्तिको केन्द्रलाई युरोप र अमेरिकाको एकाधिकारलाई एसिया र खासगरी चीनमा स्थापित हुनेछ। वन रोड वन वेल्टको सफलताले चीनलाई विश्व बजारमा सडक सञ्जालमार्फत जोड्नेछ। त्यसैले अबको विश्वको आर्थिक केन्द्र चीन बन्ने सम्भावनालाई कसैले नकार्न नसक्ने देखिन्छ।

च्याङसी प्रान्तका चिनिया कम्युनिस्ट पार्टी स्थायी समिति सदस्य शी स्याओलिनको विचारमा चीन सरकारले चिनियाँ जनतालाई गरिबीबाट माथि उठाउन गठन गरेका सहकारी समूह, पर्यटन विकास, कृषि उत्पादन, आधुनिक प्रविधिको विकासजस्ता कुरा आर्थिक समृद्धिका लागि महत्वपूर्ण विषय हुन्।

कुइचो प्रान्तका स्थानीय चौचाचय गाउँ कमिटिका सचिव छन्सिईले भने, ‘चिनियाँ नेता माओत्सेतुङको सांस्कृतिक क्रान्तिपूर्वको चीन र तङ स्याओ फिङ हुँदै वर्तमान राष्ट्रपति सी चिन फिङको नेतृत्वमा चीनमा निकै विकास भइसकेको छ। चिनियाँ नागरिकले विकासका लागि सरकारले कोरेका योजनाका खाकालाई व्यवहारिकतामा ल्याउन चिनियाँ नमुनाको समाजवादी प्रणालीको सहायता लिएका छन्।’

चिनियाँ कंग्रेसको केन्द्रीय परिषद््को सदस्यसमेत रहेका छिन्सिईले सन् २०१७ को अक्टोबरमा भएको चिनियाँ कम्युनिस्ट पार्टीको उन्नाइसौं राष्ट्रिय कंग्रेसको बेइजिङमा सम्पन्न सम्मेलनले चीन नयाँ युगमा प्रवेश गरेको बताए। चिनियाँ विशेषताको समाजवादी नमुनालाई अझ विकसित गर्दै सन् २०२१ सम्म चिनियाँ भूमिबाट पूर्णरूपमा गरिबी निवारण गर्ने निर्णय उक्त सम्मेलनले लिएको पनि छिन्सिईले स्पष्ट पारे। सम्मेलनले सन् २०४९ सम्ममा चीनले आफ्नो संस्कृति र सभ्यताको पुनर्जागरण गर्दै आर्थिक, सामाजिक र सामरिक क्षेत्रमा आफ्नो पूर्ण वर्चस्व राख्ने संकल्पसमेत गरेको थियो।

चीनको राजनीतिमा कुनै अनपेक्षित परिवर्तन नभएमा चीनको यो महत्वाकांक्षी योजनाले विश्वको नेतृत्वलाई क्रमशः युरोप तथा अमेरिकाबाट चीनतर्फ फर्काउने सम्भावना बढ्दो छ। यसका लागि चीनले आफ्ना गतिविधिलाई आर्थिक तथा सामाजिक परिवर्तनबाहेक आधुनिक प्रविधिको विकासमा गरेका नयाँ नयाँ आविष्कारले चीनको समृद्धिको बाटोमा विशेष योगदान गरिरहेको छ।

चिनियाँ कम्युनिस्ट पार्टीका संस्थापक अध्यक्ष माओत्सेतुङले अघि सारेको राज्य केन्द्रित अर्थतन्त्रले चीनको विकासको मार्गरेखा बनायो र यसलाई समय सान्दर्भिक बनाउन तङ स्याओ फिङ, च्याङ चमिन, हु चिन्ताओ हुँदै राष्ट्रपति सीले योगदान गरेको छिन्सिईले बताए।

आफ्नो भविष्यलाई राखेर चीनले पञ्चशीलमा आधारित सहअस्तित्व, पारस्परिक सहयोग र अहस्तक्षेपकारी नीति अवलम्बन गरेर सतर्कतापूर्व अगाडि बढेको छ। चीन कसैसँग भिडन्तको पक्षमा देखिँदैन। सामूहिक हितको पक्षमा रहेको चिनियाँ सपनाका कारण चीन विश्वको आकर्षण बनेको छ। वातावरण संरक्षणमार्फत हरित गृह ग्याँसको प्रभावलाई कम पार्ने चीनको प्रयास प्रशंसनीय छ। चीनले वातावरणसम्बन्धी पेरिस सम्झौतालाई कार्यान्वयन गर्दै चीनले हाल उत्सर्जन गर्दै आएको कार्बनको मात्रा सन् २०२० सम्म ४० देखि ४५ प्रतिशत कटौती गर्ने प्रतिबद्धताले विश्वको चीनलाई हेर्ने धारणामा परिवर्तन आएको छ। प्रकृति र मानिसबीचको अन्तरसम्बन्धलाई राष्ट्रपति सीले महत्वका साथ उठाएका छन्।

अहिलेको चीनको गुरुमन्त्र भनेको सबैसँग सन्तुलित सम्बन्ध कायम गरेर आर्थिक विकासमा अग्रसर बन्ने रहेको पाइन्छ। चीनको यो सोचलाई व्यवहारमा उतार्न अझै पनि कतिपय जटिलता भने रहेको पाइन्छ। पहिलो त चीनको खुलाबजार नीतिका कारण यहाँका धनी र गरिब नागरिकबीचको दूरी बढेको छ। जसले समाजवादी नीतिलाई चुनौती दिनसक्छ। अर्को शहर र गाउँबीचको जीवनलाई समान बनाउन चिनियाँ भूगोलका कारण पक्कै पनि सहजता छैन। अर्को पक्ष भनेको चीनको समृद्धि यहाँको राजनीतिक तथा सामाजिक अनुशासनका कारण सम्भव भएको छ। यसमा चिनियाँ कम्युनिस्ट पार्टी र सरकारको भूमिका महत्वपूर्ण रहेको छ। यद्यपि कडा अनुशासनका कारण दबिएर रहेका भावना एकीकृत भएर विद्रोहमा परिणत हुने खतरा पनि चीनका लागि खतरनाक चुनौती हुनसक्छ। यसप्रति चीन सचेत भने रहेको देख्न सकिन्छ।

चीनले वातावरण संरक्षण, पर्यटन विकास, गरिबी निवारण, एकिकृत वस्ती निर्माण, सडक तथा हवाई रुटको विकास, आधुनिक कृषि प्रणाली नेपाल र नेपालीले पनि अनुकरण गर्न लायक कुरा हुन्। यसका लागि नेपालमा राजनीतिक दलको विकासका काममा रहने इच्छाशक्तिले महत्वपूर्ण भूमिका खेल्नसक्छ।

चीनको अनुशासन, कामप्रतिको लगनशीलता र कार्यक्रमको निरन्तरताबाट नेपालले आफ्नो आर्थिक विकासका लागि पाठ सिक्न सक्नेछ। यसका लागि निजी क्षेत्र, सहकारी, तथा सरकारी निकायबीच समन्वय हुनु आवश्यक रहन्छ। सरकारले कार्यक्रम बनाउने मात्र नभई कार्यन्वयन गराउन आफू अन्तर्गतका निकायलाई निर्देशन दिने र कार्यक्रम समयमा सम्पन्न भए नभएको अनुगमनलाई प्रभावकारी बनाउनुसमेत पर्छ। समृद्ध समाजको सपना बोकेर लाग्ने कुनै पनि नेतृत्वलाई नागरिकहरूले विना आग्रह प्रोत्साहन गर्नेछन् र देशमा राजनीतिक स्थायित्वको प्रत्याभूत हुनेछ। अन्नपुर्णपाेष्ट बाट

Leave A Reply

Your email address will not be published.