News Portal

ऐन संशोधनपछि मात्र नागरिकता दिनू :गृहको परिपत्र

श्रवण देव ।२० साउन, सप्तरी । जन्मका आधारमा नागरिकता पाएकाहरुको सन्तानले ‘नागरिकता ऐन’ संशोधन नभएसम्म नागरिकता लिन नपाउने भएका छन् ।

हालै मात्र प्रदेश २ को आन्तरिक मामिला तथा कानून मन्त्रालयले संवैधानिक व्यवस्था र अदालतको आदेशलाई देखाउँदै जन्मका आधारमा नेपालको नागरिकता पाएकाहरुको सन्तानलाई बंशजको नागरिकता दिन प्रदेशका ८ वटै जिल्ला परिपत्र गरेको थियो ।

तर, जिल्ला प्रशासन कार्यालयहरुले आवश्यक निर्देशनका लागि भन्दै केन्द्रीय गृह मन्त्रालयमा पत्राचार गरे ।

गृह मन्त्रालयले आइतबार प्रदेश सरकार र जिल्ला प्रशासन कार्यालयहरुलाई जवाफी पत्र लेख्दै नागरिकता ऐन संशोधनपछि मात्र यस्तो नागरिकता दिन निर्देशन दिएको छ ।
ऐन संशोधनको मस्यौदा मन्त्रिपरिषदमा पुगेको भन्दै मन्त्रालयले भनेको छ, ‘यसलाई छिट्टै संसदमा पठाउने प्रयत्न भइरहेको र संसदबाट संशोधन विधेयक पारित भई ऐन बने पश्चात संघिय कानून बमोजिम जन्मको आधारमा नागरिकता प्राप्त नागरिकका सन्तानलाई नागरिकता प्रदान गर्न सकिनेछ ।’

 

नागरिकता दिन कुनै समस्या छैनः प्रचण्ड

सरकारले ऐन संशोधनपछि मात्र जन्मका आधारमा नागरिकता पाएकाको सन्तानलाई बंशजको नागरिकता दिन सकिने निर्णय भइरहेकै समयमा सत्तारढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भने नागरिकता दिन कुनै समस्या नभएको बताएका छन् ।

बाराको कलैयामा आइतबार भएको कार्यक्रममा प्रचण्डले नागरिकताको मुद्दा कुनै मुद्दा नै नभएको बताए ।

यसबारे प्रधानमन्त्री केपी शर्माजी, आफू र गृहमन्त्री रामबहादुर थापा बादलबीच सहमति भएको उनले बताए । ‘यसरी पाइएको छैन भने नपाउनु आश्चर्यजनक हो’ उनले भने, ‘जन्मसिद्ध आधारमा बाबुआमाको नागरिकता छ भने छोराछोरीलाई पनि दिइन्छ ।

Leave A Reply

Your email address will not be published.