News Portal

गंगामाया अन्तर्राष्ट्रिय न्यायालय जाँदै, राहदानी लिइन् काठमाडौं जिप्रकाबाट

फागुन ०५ काठमाडौं । जनयुद्धको समयमा मारिएका छोराको हत्यारालाई कार्वाहीको माग गर्दै लामो समयदेखि अनसन बस्दै आएकी गोरखा फुजेलकी गंगामाया अधिकारी अब न्याय खोज्न अन्तर्राष्ट्रिय न्यायालय जाने भएकी छिन् ।

न्यायका लागि अन्तर्राष्ट्रिय समुदायसम्म पुग्न भन्दै गंगामाया अधिकारीले राहदानी समेत बनाएकी छन् । न्याय नपाएको भन्दै गत पुस २५ गते पुलचोकस्थित राष्ट्र संघ भवन पुगेकी गामायाले आइतवार जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट राहदानी बनाएकी छन् ।

गंगामायाको राहदानी बनाउनका लागि उनको पक्षमा लबिङ गर्दै आएका अधिवक्ता ओमप्रकाश अर्याल र सुरेन्द्र भण्डारी तथा नेपाल मानवअधिकार संगठनका अध्यक्ष इन्द्र अर्याल बबरमहलस्थित जिल्ला प्रशासन पुगेर सहयोग गरेका छन् ।

राहदानी बनाएपछि गंगामायाले अब न्याय खोज्नका लागि अन्तर्राष्ट्रिय समुदायसम्म पुग्ने बताइन् । तत्कालीन नेकपा माओवादीले चलाएको जनयुद्धका क्रममा आफ्ना छोराको हत्यारामाथि कार्बाही नभएको भन्दै गंगामाया लामो समयदेखि अनसनमा बस्दै आएकी छन् ।

छोरा कृष्णप्रसादको हत्यारालाई कार्वाहीको माग गदागर्दै गंगामायाका श्रीमान नन्दप्रसाद अधिकारीको अनसनकै क्रममा ज्यान गइसकेको छ । अधिकारीको शव अझै पनि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा छ ।

राहत स्वरुप सरकारको डेढ करोड
छोरा कृष्णप्रसादको हत्यामा संलग्नलाई कार्बाही माग राख्दै पटक–पटक आमरण अनसन बस्दै आएकी गंगामायालाई सरकारले राहतस्वरूप एक करोड रुपैयाँ उपलब्ध गराइसकेको छ ।

अधिकारीसँग विगतमा गरेको सम्झौता बमोजिम सरकारले गत साउन पहिलो साता उनको नाममा खाता खोली एक करोड रुपैयाँ जम्मा गरिदिएको थियो ।

कृषि विकास बैंकमा खोलिएको उनको खातामा सरकारले २०७१ सालमै दिने भनी सम्झौता गरेको एक करोड रुपैयाँ हाली दिएको थियो । सरकारबाट राहत बुझेपछि उनी गत मंसिरमा राष्ट्रसंघ पुगेकी थिइन् ।

राष्ट्रसंघ पुगेकी उनले ‘न्याय खोज्न म कहाँ जाऊ ?’ लेखिएको प्लेकार्ड छातीमा झुण्ड्याएर न्यायको आह्वान गरेकी थिइन् । गंगामायाको छोराको हत्याको आरोप लागेका एक जना रुद्र आचार्य बेलायतमा रहेको स्रोतको दावी छ ।

Leave A Reply

Your email address will not be published.