News Portal

प्रधानमन्त्रीद्वारा दुःख व्यक्त

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश नं ५ का प्रदेशसभा सदस्य उत्तरकुमार वलीको निधनप्रति दुःख व्यक्त गरेका छन्। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को केन्द्रीय कार्यलय धुम्बाराहीमा आज आयोजित श्रद्धाञ्जलि सभामा प्रधानमन्त्री ओलीले प्रदेशसभा सदस्य वलीको निधनमा दुःख व्यक्त गर्दै श्रद्धाञ्जलि व्यक्त गर्नुभयो । प्रधानमन्त्री ओलीले नेकपाका एकजना होनोहार युवा नेताको निधनले सिङ्गो पार्टी र देशलाई नै क्षति पुगेकोे उल्लेख गर्नुभयो । नेकपा अध्यक्ष समेत रहनुभएका प्रधानमन्त्री ओलीले मृतकका परिवार, आफन्तजन र सम्पूर्ण पार्टीपङ्क्तिप्रति गहिरो समवेदना पनि व्यक्त गर्नुभएको छ ।

सोही अवसरमा प्रधानमन्त्री ओलीले स्वर्गीय वलीको पार्थिव शरीरमा पार्टीको झण्डा ओढाउनु भएको थियो । विसं २०७४ मा भएको प्रदेशसभा निर्वाचनमा दाङको क्षेत्र नं ३ ‘ख’ बाट तत्कालीन नेकपा (एमाले)तर्फबाट वली प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभएको थियो । केही दिनअघि सवारी दुर्घटनामा परी घाइते हुनुभएका प्रदेश सांसद वलीको ३७ वर्षको उमेरमा आज बिहान निधन भएको हो । वलीको पार्थिव शरीरमा उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा, नेकपाका सचिवालय सदस्य बामदेव गौतम, नेकपाका महासचिव विष्णुप्रसाद पौडेल लगायतका नेताले श्रद्धाञ्जलि व्यक्त गर्नुभएको थियो ।रासस

Leave A Reply

Your email address will not be published.