News Portal

पाँचथरको फालेलुङको सिदिनमा अलैँची मेला सम्पन्न 

फिदिम । पाँचथरको फालेलुङ गाँउपालिका–७ सिदिनमा अलैँची मेला सम्पन्न भएको छ। मेलामा अलैंँचीका विभिन्न उत्पादनसहित अलैँचीको पात र डाँठबाट निर्मित सामग्री प्रदर्शनीमा राखिएको थियो। मेलामा अलैँचीसँग सम्बन्धित विभिन्न प्रचारप्रसार सामग्री कृषकलाई वितरण गरिएको छ। याङतारु अलैँची जोन सञ्चालक समितिले आयोजना गरेको मेलामा गाउँपालिकाका आठ वटै वडाका अलैँची कृषकको सहभागिता रहेको थियो। 

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अलैँची जोन कार्यान्वयन एकाइ पाँचथरको सहयोगमा मेला आयोजना गरिएको हो। यहाँका वडा नं १, २, ६ र ७ मा ५०० हेक्टर जमीनबाट शुरु गरिएको अलैँची जोन कार्यक्रममा अहिले पूरै गाउँपालिकामा फैलिएको छ। करीब दुई हजार हेक्टर जमीनमा अलैँची खेती विस्तार भएको छ। 

गत वर्षबाट आयोजना गर्न थालिएको अलैँची मेलामा अलैँचीमा देखापरेका समस्या समाधानमा कृषि प्राविधिकको परामर्श लिइएको छ। मेलामा यहाँ उत्पादित वस्तुको बिक्री तथा प्रदर्शनी गरिएको छ । खेर गइरहेको अलैँचीका बोटबाट बनेका विभिन्न वस्तु, अलैँचीको चिया, मसलालगायत स्थानीय उत्पादन बिक्री गरिएको याङतारु अलैँची जोन सञ्चालक समितिका अध्यक्ष सुजन आङ्वोले बताए। 

मेलाको अवसरमा आयोजित कार्यक्रममा जोन कार्यान्वयन एकाइसँग अलैँचीखेती विस्तार र उत्पादकत्व वृद्धिमा उल्लेख्य भूमिका निर्वाह गरेका पाँच कृषकलाई सम्मान गरिएको थियो। सम्मानित हुने कृषकमा पदमप्रसाद रिजाल, हर्कमाया राई, पूर्णबहादुर राई, जसराज केरुङ र हरिप्रसाद रिजाल रहेका छन्।

उनीहरूलाई गाउँपालिकाका प्रमुख सञ्चकुमार केरुङले नगद पुरस्कार, दोसल्ला र प्रशंसापत्र प्रदान गरे। कार्यक्रममा गाउँपालिकाका प्रमुख केरुङले उत्पादन र उत्पादकत्व वृद्धिमा अलैँची जोन कार्यक्रम प्रभावकारी भएको बताए।

उनले आगामी दिनमा अलैँचीबाट उत्पादित सामग्रीको बजारीकरण र प्याकेजिङलाई प्रभावकारी बनाउन जोड दिए। कार्यक्रममा ७७ कृषक समूह, पाँच कृषि सहकारी संस्था कार्यक्रममा सूचीकृत भएका छन् भने दुई हजार ६६५ घरधुरीका कृषक आबद्ध रहेको जोन कार्यान्वयन एकाइकी रञ्जु खड्काले जानकारी दिए।

कृषिमा आधारित अर्थतन्त्रलाई कृषिजन्य उद्योगमा रुपान्तरण गर्ने, कृषिको आधुनिकीकरण गर्दै व्यावसायिक, दिगो एवं आत्मनिर्भर बनाउने उद्देश्यले कार्यक्रम सञ्चालित छ। 

कृषिमा विशिष्टिकृत क्षेत्र निर्माण गर्ने, निर्यातयोग्य कृषि वस्तुको मूल्य शृङ्खला अभिवृद्धि गर्ने, स्थानीय उत्पादनलाई विश्वबजारमा पुर्याउन मद्दत गर्ने, कृषि क्षेत्रमा रोजगारका अवसर सिर्जना गर्ने लक्ष्यका साथ अलैँची जोन कार्यक्रम सञ्चालन भएको कार्यक्रमका प्रमुख प्रकाश विश्वकर्माले बताए।

परियोजनाले आत्मनिर्भर अर्थतन्त्रका लागि कृषिको आधुनिकीकरणमा भूमिका खेल्ने विश्वास लिइएको छ। जोन कार्यक्रममा विश्वबजारमा राम्रो मूल्यमा बिक्री हुनसक्ने अलैँचीको गुणस्तर सुधार र उत्पादन वृद्धिका लागि विभिन्न कार्यक्रम भइरहेका छन्। यस क्रममा अलैँची कृषकलाई लक्षित गरी आधुनिक भट्टी निर्माण र वितरण गरिएको छ। कार्यक्रमअन्तर्गत नै ७० सुधारिएको अलैँची भट्टी वितरण भइरहेको छ। 

Leave A Reply

Your email address will not be published.