News Portal

वाईडबडी खरिद प्रकरणमा रविन्द्रको कुनै पनि संलग्नता थिएन : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले दिवंगत संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रविन्द्र अधिकारीको वाईडबडी विमान खरिद प्रकरणमा कुनै पनि संलग्नता नरहेको बताएका छन्।

प्रधानमन्त्री ओलीले केही तत्वले मन्त्री अधिकारीलाई सो प्रकरणमा जोडेर मान दर्मन गर्न खोजेको भन्दै आपत्ति पनि जनाए। शुक्रबार मन्त्री अधिकारीको निधनप्रति शोक प्रस्ताव पारित गर्न बसेको पार्टी संसदीय दलको बैठकमा उनले मन्त्री अधिकारी कुनै पनि लोभलालचमा पर्ने खालको नभएको पनि स्पष्ट पारे।

प्रधानमन्त्री ओलीले मन्त्री अधिकारीलाई सो प्रकरणमा जोडेर लाञ्छना लगाउने, काममर्दन गर्ने काम गरेपनि त्यो सत्य नभएको बताए। प्रधानमन्त्री ओलीले मन्त्री अधिकारीले नेपालको नागरिक उडड्यनको क्षेत्रमा असाधारण काम गरेको पनि स्मरण गराए।

वाइडबडी बिमान खरिद प्रकरणमा छानविनका लागि गठन गरेको संसद्को सार्वजनिक लेखा समितिअन्तर्गतको उपसमतिले बुझाएको प्रतिवेदनले नेपाल वायुसेवा निगमको वाइडबडी विमान खरिदमा ४ अर्ब ३५ करोड रकम अनियमितता भएको बताएको थियो।

सो प्रतिवदेनले निगमको वाइडबडी विमान खरिद प्रकरणमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहित पूर्वमन्त्रीहरू जीवनबहादुर शाही र जितेन्द्रनारायण देव, निगमका महाप्रबन्धक सुगतरत्न कंसाकार, पर्यटन मन्त्रालयका सचिव कृष्णप्रसाद देवकोटा, तत्कालीन पर्यटन सचिव प्रेमकुमार राई र पूर्वसचिव शंकर अधिकारी सो प्रकरणमा मुछिएको हुँदा उनीहरुलाई कारबाहीको समेत सिफारिस गरेको थियो।

यो विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानविन गरिरहेको छ।

Leave A Reply

Your email address will not be published.