News Portal

कोलकातामा नेपाली युवतीलाई बलात्कार गर्ने ४ जनालाई २० वर्षको जेल सजाय

काठमाडौं। तीन वर्षअघि भारतको कोलकातामा नेपाली युवतीलाई अपहरण गरी बलात्कार गर्ने अभियुक्तहरुलाई सजाय सुनाइएको छ । तीन वर्ष अघि २४ वर्षे नेपाली युवती कोलाकाताको व्यापारिक क्षेत्र भनेर चिनिने सेक्टर पाँचबाटै अपहरित भएकी थियन् । उनी रोजगारीको खोजीमा छिमेकी देश नेपालबाट कोलकाता गएकी थिइन् । सहरमा नयाँ भएकीले युवती कोलकाताका स्थानहरुबारे जानकार थिइनन् । यसले उनले आफू जानुपर्ने ‘चाय ब्रेक रेस्टुरेन्ट’को ठेगाना एक जना स्थानीय युवकसँग सोधिन् ।

उनले ठेगाना सोधेको पुरुष केही समयपछि थप तीन केटासहित एक सेतो रंगको टाटा सुमोमा आयो । उनीहरुले युवतीलाई पछ्याउँदै गएर बलजफ्ती चलिरहेको सुमोमा ताने । त्यसपछिको चार घण्टासम्म उनीहरुले युवतीलाई बारम्बार बलात्कार गरे । यो सम्पूर्ण अवधिमा उनीहरु सवार गाडी सेक्टर पाँचको वरपर चक्कर लगाइरहेको थियो ।

‘बलात्कार गरेपछि उनीहरुले युवतीलाई मार्ने सल्लाह पनि गरेका थिए तर सोही समय युवतीले कारको लक खोल्न भ्याइन र वाहनबाट हामफालिन्,’ मुद्दामा युवतीको पक्षमा वकालत गरेका सरकारी वकिल विवस चटर्जीले भने ‘कारबाट झरेपछि उनी अपहरणकारी–बलात्कारीहरुबाट भाग्न सफल भइन् । उनी हामफाल्दा एक आरोपीको मोबाइल फोन पनि कारबाट झरेको रहेछ । त्यस्तै एक आरोपीले युवतीको गरगहना र २० हजार भारु खोस्दा उनको मोबाइल पनि लिएको रहेछ,’ विवशले भने ।

आरोपीहरुलाई इण्डियन पेनल कोडको सेक्सन ३६६(अपहरण), सेक्सन ३७६ घ (सामुहिक बलात्कार), ३७२(२)(ण) र सेक्सन ३४(आम मनसाय) अन्तर्गत अपहरण, बलात्कार, बारम्बार बलात्कारमा दोषी पाइएको थियो । सबै चार आरोपीहरुलाई २० वर्षको जेल सजाय तोकिएको छ । त्यस अतिरिक्त बलात्कृत युवतीलाई दोषीहरुले १.६ लाख भारु जरिवाना तिर्नुपर्नेछ । युवतीलाई इण्डियन पेनल कोडको सेक्सन ३५७ क अन्तर्गत राज्यबाट पनि ५ लाख भारु क्षतिपुर्ति दिइनेछ ।

यो मुद्दामा अदालतमा २३ प्रत्यक्षदर्शी, ९० सबुत र ८२ सामग्री सबुतहरु प्रस्तुत गरिएको थियो । ‘चिकित्सकीय जाँचबाट युवतीमाथि सामुहिक बलात्कार भएको प्रमाणित भइसकेको थियो । तर दोषी पहिचान गर्न मोबाइलले महत्वपूर्ण भूमिका खेल्यो । एकातर्फ मोबाइलको प्रकाशको कारणले युवतीले दोषीहरुको अनुहार देखेकी थिइन । अर्को तर्फ युवती भाग्ने क्रममा दोषी र उनको मोबाइल साटिदाँ अपराधकर्मको समयमा दुवै मोबाइल एकै स्थानमा थियो भन्ने प्रमाण जुटाउन सम्भव भयो । हामीहरुले यो कार्य उक्त समय टावरको अवस्थितिको नक्सांकन गरेर गर्यौ’, चटर्जीले विस्तारमा बताए ।

फैसलालाई कोलकाता क्षेत्रमा महत्वको साथ हेरिएको छ । घटना आईटी र कल सेन्टरहरुका बहु–राष्ट्रिय कम्पनीहरु रहेको सेक्टर पाँचमा भएको थियो । त्यहाँ धेरै महिलाहरु रोजगारीको लागि दिनहुँ हिँडडुल गर्ने गर्छन् । यसैले यो फैसला महिलामाथि हुने घृणीत दुष्कर्म रोक्न दृष्टान्त हुने मानिएको छ ।

Leave A Reply

Your email address will not be published.