News Portal

निर्मला हत्या अनुसन्धान, प्रहरी नजर फेरि ‘ह्युमन इन्टेलिजेन्स’तर्फ

काठमाडौं। कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या भएको सात महिना नाघ्दासमेत प्रहरीले हत्यामा संलग्न दोषीलाई पक्राउ गर्न सकेको छैन । अनुसन्धानमा एक पछि अर्को शैली अपनाइरहेको प्रहरीले अहिले भने ‘ह्युमन इन्टेलिजेन्स’ लाई केन्द्रमा राखेर काम गरिरहेको छ ।हत्यामा संलग्नको खोजीमा प्रहरीले हालसम्म २६ जनाको डीएनए परीक्षण गरिसकेको छ भने १ हजारभन्दा बढीसँग सोधपुछ गर्दै निगरानी राख्दै आएको छ । तर, हालसम्म अपनाइएका हरेकजसो अनुसन्धानका प्रक्रियामा असफल भएपछि प्रहरीले फेरि ‘ह्युमन इन्टेलिजेन्स’मार्फत अनुसन्धानलाई अघि बढाएको छ । गत १० साउनमा साथीको घर जान भन्दै हिँडेकी निर्मलाको ११ साउनमा घर नजिकैको उखुबारीमा शव भेटिएको थियो ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता उत्तमराज सुवेदीले ‘ह्युमन इन्टेलिजेन्स’मार्फत प्रहरीले घटनाको समयलाई पुनः तत्कालिक अवस्थाबाट हेर्ने र घटनास्थल वरपर त्यसबखत भेटिएकाको तत्कालीन जानकारी लिने जनाए । ‘ह्युमन इन्टेलिजेन्स’मार्फत प्रहरीले अनुसन्धानलाई अघि बढाएको छ, यस सन्दर्भमा घटनाको समयलाई पुनः तत्कालिक अवस्थाबाट हेर्ने र घटनास्थल वरपर त्यसबखत भेटिएकाहरूको तत्कालीन जानकारी लिने काम प्रहरीले गरिरहेको छ,’ प्रहरी प्रवक्ता सुवेदीले राजधानीसँग भने ।

उनले घटनाको तत्कालीन अवस्थाबारे कुनै एक व्यक्तिले अर्को व्यक्तिसँग घटनाको अवस्था साटासाट गरेको भए यस प्रक्रियामार्फत केही तथ्य पत्ता लगाउन सकिने भएकाले प्रहरीले अनुसन्धानका लागि सो प्रक्रिया अपनाएको जनाए ।हाल कञ्चनपुरमा निर्मला हत्याको अनुसन्धानका लागि स्थानीय प्रहरीबाहेक प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले समेत अनुसन्धानलाई जारी राखेको छ ।कञ्चनपुरका प्रहरी प्रमुख एसपी दिनेश आचार्यले स्थानीय प्रहरी टोलीसहित केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को प्रहरी टोलीले हत्याको अनुसन्धान जारी रहेको जनाएका हुन् । प्रहरीले हत्यामा संलग्नको आशंकामा स्थानीयले दिएका शंकास्पद व्यक्तिको हुलियाका आधारमा समेत शंकास्पद व्यक्तिहरूको स्केच बनाएर अनुसन्धानलाई अघि बढाउँदै आएको थियो । तर, अनुसन्धानका लागि लिइएका कसैको पनि स्केच मिलेको छैन ।

‘कुनै व्यक्तिमाथि कसैले शंका गर्दा प्रहरीले त्यसमा सूक्ष्म निगरानी राखेर स्केच बनाएरै अनुसन्धान गर्दै आएको छ तर हालसम्म कसैको पनि स्केच म्याच भएको छैन,’ प्रहरी स्रोतले भन्यो । स्रोतका अनुसार हालसम्मको अनुसन्धानका क्रममा प्रहरीले करिब एक दर्जन व्यक्तिको स्केच बनाइसकेको छ । प्रहरीले हत्या अनुसन्धानका लागि हालसम्म २६ जनाको डीएनए परीक्षणसमेत गरिसकेको जनाएको छ । तर, निर्मलाको भेजाइनल स्वाबसँग भने कसैको पनि डीएनए म्याच भएको छैन ।

अनुसन्धानका सुरुवाती चरणमै प्रहरीले लापरबाही गरेपछि प्रहरीलाई अनुसन्धानमा समस्या हुँदै आएको छ । यस बीचमा प्रहरीले दोषी भनेर अनुसन्धानमा लिइएका व्यक्तिसमेत डीएनए नमिलेपछि छुट्दै आएका छन् ।निर्मलाकी आमा दुर्गादेवी पन्तले छोरीको भेजिनल स्वाबमा नै शंका व्यक्त गर्दै आफ्नो डीएनएसँग त्यसको पुष्टिका लागि डीएनए परीक्षण गर्न रगतको नमुना दिएकी थिइन् । उनको भने छोरीको डीएनएसँग म्याच भएको प्रहरीले बताउँदै आएको छ । राजधानी दैनिक

Leave A Reply

Your email address will not be published.