News Portal

पूर्वराजा ज्ञानेन्द्र शाहको मध्यतराईको स्थगित

काठमाडौं। पूर्वराजा ज्ञानेन्द्र शाहको मध्यतराईको भ्रमण एक साताका लागि स्थगित भएको छ। करिब डेढ महिनादेखि दमक बस्दै आएका ज्ञानेन्द्रको हिजो बुधबारदेखि हुने ५ दिन लामो धार्मिक भ्रमण स्थगित भएको हो।आमा एवम् पूर्वमुमा वडामहारानी रत्न राज्यलक्ष्मी देवी शाह अकस्मात् बिरामी परेपछि उहाँको भ्रमण एक साता पर धकेलिएको हो। नर्भिकमा भर्ना भएकी ९१ वर्षीया रत्नको स्वास्थ्य अवस्थाबारे जानकारी लिन ज्ञानेन्द्र हिजो बुधबार दिउँसो काठमाडौं फर्किनुएका छन्। विमानस्थलबाट उनी सिधै नर्भिक अस्पताल पुगेका हुन्।

एक सातादेखि रुघा, खोकीलगायतका कारण अस्वस्थ रत्नको एन्टिबायोटिकका कारण पखाला लाग्ने र कमजोर भएपछि मंगलबार भर्ना गरिएको थियो। उनलाई खोकी लाग्ने, कफ आउन गाह्रो हुनेलगायत छातीमा देखिएको समस्याको कारण अस्पताल भर्ना गरिएको थियो ।अहिले उहाँको स्वास्थ्यमा सुधार भइरहेको छ । आजै घर जाआैं भनिरहनुभएको छ तर चिकित्सकले केही दिन राख्नुपर्ने सुझाव दिएको कारण उहालाई केही दिन अस्पताल राख्नुपर्ने भएको छ’, स्रोतले भन्यो– ‘स्वास्थ्य ठीक भएर होला उहाँ अस्पताल बस्नै मान्नुभएको छैन ।’

महेन्द्र मञ्जिलमा बस्दै आएकी उनलाई निजी चिकित्सक खगेन्द्रबहादुर श्रेष्ठ, डा. मृगेन्द्रराज पाण्डेले नियमित स्वास्थ्य परीक्षण गर्दै आएका छन्। रत्नको स्वास्थ्य अवस्थाबारे जानकारी लिन नर्भिक पुगेका ज्ञानेन्द्रले चिकित्सकसँग पछिल्लो अवस्थाबारे जानकारी लिएका छन्। रत्नको अवस्थाबारे जानकारी लिन पूर्वमहारानी कोमल, पूर्वयुवराज पारस, नाति हृदयन्द्र, नातिनी प्रेरणालगायत सबै आफन्त नर्भिक अस्पताल पुगेका छन्।

हिजो काठमाडौं आउनुभएका पूर्वराजा ज्ञानेन्द्र आइतबार पुनः झापा जाने कार्यक्रम रहेको छ। २६ गते झापा पुगेपछि ३० गतेदेखि तराईका धनुषा, सार्लाही, उदयपुर र सप्तरी भ्रमण गर्ने कार्यक्रम रहेको स्रोतले जनाएको छ। तर आमा रत्नको स्वास्थ्य अवस्था जटिल भए उनको भ्रमण अझै केही दिन पर सर्न सक्छ । मंगलबार बेलुकीदेखि नै रत्नको स्वास्थ्यमा सुधार आएकाले आइतबार झापा फर्किने र आगामी बिहीबारबाट मध्यतराईको भ्रमणमा जाने कार्यक्रम रहेको छ ।

उनी जनकपुरस्थित सीता होटलमा बस्ने र त्यहींबाट तराईका विभिन्न जिल्लाको भ्रमण गर्ने कार्यतालिका रहेको छ। हिजो बुधबार २ बजे दमकबाट जनकपुर जाने कार्यक्रम तय भएको थियो । पूर्वराजा ज्ञानेन्द्रका संवादसचिव डा. फणीराज पाठकले विज्ञप्ति जारी गरी पूर्वबडामहारानी रत्नको स्वास्थ्यमा केही समस्या देखिएपछि पूर्वराजा काठमाडौं आउनुभएको र हाललाई अर्को जानकारी नभएसम्म भ्रमणको कार्यक्रम स्थगित भएको उल्लेख गरेका छन्। मध्यतराईको भ्रमणलगत्तै उहाँले राजनीतिक भेटघाट गर्ने भएका छन्। नेपाल समाचारपत्र दैनिक

Leave A Reply

Your email address will not be published.