News Portal

‘भारतको आक्रमणमा मारिएका आतंकवादी’ भन्दै भाइरल फोटोको यस्तो छ वास्तविकता

काठमाडौं। अहिले सामाजिक संजालमा केही तस्वीर निकै भाइरल बनाइएका छन् । भारतले पाकिस्तानको कश्मिरमा हवाइ आक्रमण गरेपछि त्यहाँ कति आतंकवादी मारिए भन्ने विषयमा विवाद चलिरहेका बेला यी तस्वीर भाइरल बनाइएका छन् ।

भारतले ३ सय आतंकवादी मारिएको दावी गरिरहँदा पाकिस्तानले भने त्यहाँ कोही पनि नमारिएको बताएको छ । यी तस्वीरहरु शेयर गर्नेहरुले यी मृत शरीर तिनै आतंकवादीको भन्दै शेयर गरिरहेका छन् । 

सामाजिक संजालमा भाइरल तस्वीरमा ठूलो संख्यामा लाशहरु छन् र यी लाशलाई गाड्ने तयारी भइरहेको छ । भारतीयहरुले यी तस्वीर बालाकोट आक्रमणमा मारिएका आतंकवादीको दावी गरिरहेका छन् ।

तर, वास्तविकता भने त्यस्तो होइन । यी तस्वीर बालाकोट आक्रमणमा मारिएका आतंकवादीको होइन । यी तस्वीर झण्डै ४ वर्ष पुराना हुन् । यद्यपि यी फोटोहरु पाकिस्तानकै हुन् तर यी लाशहरु कुनै आतंकवादीको नभइ आम नागरिकका हुन् । 

यी फोटोहरु पाकिस्तानको कराची शहरका हुन् । २०१५ मा यहाँ भयानक रुपमा गर्मी बढेको थियो । १ महिनासम्म चल्ने रमजानको क्रममा यहाँ ४५ डिग्रीसम्म तापक्रम पुगेको थियो । यो भयानक गर्मीमा यहाँका मुस्लिम समुदायका नागरिकले सूर्य उदाउँदादेखि नअस्ताउँदासम्म पानी पनि नपिएर रोजा ब्रत राखेका थिए ।

यही कारण यहाँ ठूलो संख्यामा नागरिकको मृत्यु भएको थियो । यी नागरिकका शवलाई सामूहिक रुपमा गाड्नुपरेको थियो । तिनै तस्वीरलाई अहिले बालाकोटमा भारतको आक्रमणमा मारिएका आतंकवादी भन्दै भारतीयहरुले भाइरल बनाइरहेका छन् ।

Leave A Reply

Your email address will not be published.